कबाड व्यवसायीसँग वार्ता नै हुँदैन, अब बाँकी रहेका टहरा भत्काउँछौँ : राजु पाण्डे

1.52K
shares

काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता र सहमति नगर्ने बताएका छन् । महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले महानगरले थप वार्ता र सहमति नगर्ने उनको भनाइ छ ।

“महानगरको कार्यपालिका बैठकले नै कबाड व्यवसाय हटाउने निर्णय गरेको हो । अहिलेको आन्दोलनलाई सामान्यरूपमा लिएका छौँ । जति आन्दोलन गरे पनि वार्ता, सहमति हुँदैन,” पाण्डेले  भने ।

महानगरले अब थप बाँकी रहेको ठाउँबाट कबाड व्यवसायीका टहरा हटाउने उनको भनाइ छ । “अब बाँकी रहेका ठाउँबाट पनि कबाड व्यवसाय हटाउँछौँ । आवासीय क्षेत्रबाहेक जता गरे पनि केही भनेका छैनौँ । बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ,” पाण्डेले भने ।

गत सोमबारदेखि कबाड व्यवसायीले महानगरको कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरूले पाँचबुँदे माग राख्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताइरहेका छन् ।

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ । यस्तै, महानगरले गुन्डागर्दी शैलीमा आफूहरूमाथि ज्यादती गरेको र व्यवसायी घाइते भएकाले क्षतिपूर्ति दिनुपर्ने उनीहरूको भनाइ छ ।