नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’
वि.सं.२०८२ भदौ १२ बिहीवार १४:१५
shares

काठमाडौं । नेपाल हुँदै जैश–ए–मोहम्मदका तीन संदिग्ध सदस्य भारत प्रवेश गरेका भन्दै बिहार प्रहरीले उच्च सतर्कता अपनाएको भारतीय मिडियाले जनाएका छन् ।
नेपाल हुँदै भारत प्रवेश गर्ने जैश–ए–मोहम्मदका तीन सदस्यमा पाकिस्तानको रावलपिंडीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मान रहेका त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।
जैश–ए–मोहम्मद भारतले आतंकवादी घोषणा गर्दै प्रतिबन्ध लगाएको संगठन हो । पाकिस्तानबाट नेपाल हुँदै उक्त संगठनका तीन सदस्य प्रवेश गरेका सूचनापछि बिहार प्रहरीले उच्च सतर्कता अपनाएको जनाइएको छ ।
बिहार प्रहरी मुख्यालयले नेपाल हुँदै भारत प्रवेश गरेका भनिएका ती तीनजनाको स्केच पनि जारी गरेको छ । बिहार प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले उनीहरू अगस्टको दोस्रो साता नेपालको राजधानी काठमाडौं आइपुगेका र गएको सात बिहारमा प्रवेश गरेका जनाएको छ ।
एनडीटीभीका अनुसार, बिहार प्रहरीले सीमावर्ती जिल्लाका अधिकारीसँग जैश–ए–मोहम्मदका ती सदस्यको पासपोर्टसम्बन्धी विवरण साझा गरेको छ ।
सुरक्षा एजेन्सीलाई निगरानी बढाउन र गुप्त जानकारी संकलन गर्न निर्देशन दिइएको छ । कुनै पनि शंकास्पद गतिविधिका आधारमा आवश्यक कारबाही गर्न जिल्ला गुप्तचर इकाइहरूलाई भनिएको इन्डिया टुडेले जनाएको छ ।
यो वर्षको अन्त्यमा हुने विधानसभा चुनावलाई ध्यानमा राख्दै बिहारमा सुरक्षा सतर्कता बढाइएको छ ।












