देउवाले भने– ‘जेनजी’ प्रदर्शनमा गरिएको आगजनी सुनियोजित र योजनाबद्ध
वि.सं.२०८२ असोज २८ मंगलवार १५:११
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सुनियोजित र योजनाबद्ध रूपमा तोडफोड र आगजनी गरिएको आरोप लगाएका छन् । मंगलबार (असोज २८) ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
“यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्तभन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन्,” देउवाले भने ।
उनले ती घटनाको यथाशीघ्र थप अध्ययन, अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । “यो अनुसन्धान कसैलाई तात्कालिक नाफाघाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उनले भने ।
देशमा हाल सबै महत्त्वपूर्ण अंगको मनोबल गिरेको अवस्था रहेको उनले बताए । “अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोबलसाथ काम गर्न आह्वान पनि गर्नुपर्दछ,” उनले भने ।












