महानगरको कार्यपालिका बैठकमा उठ्यो सिंहदरबारमा दमकल नपुगेको विषय
वि.सं.२०८२ असोज ३१ शुक्रवार १३:३३
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिकाको बैठकमा गत भदौ २३ र २४ गते भएको आगजनीमा नियन्त्रणमा समयमै दमकल परिचालन गर्न नसकिएको विषय उठेको छ ।
आज महानगरका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकमा काठमाडौंका महत्त्वपूर्ण प्रशासनिक भवन जलेर खरानी हुँदा महानगर टुलुटुलु हेरेर बसेको भन्दै वडाध्यक्षहरूले प्रश्न गरेका हुन् ।
वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले बैठकमा भदौ २३ र २४ को घटनाको एजेन्डा नराखिएकामा आपत्ति जनाए ।
“म यसमा खेद प्रस्ताव पेस गर्न चाहन्छु । देशभरि क्षति भए पनि काठमाडौंमा प्रभाव बढी रह्यो,” बैठकमा उनले भने, “धेरै सम्पदा जलेर खरानी हुँदा हामीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौँ । हामी पनि सुरक्षित थिएनौँ । डराएको जस्तो अवस्था थियो । यो हत्या, हिंसा र लुटपाट, आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ ।”
वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाले महत्त्वपूर्ण सम्पदा ध्वस्त पारिएकोप्रति आपत्ति जनाए । “मलाई दुस्ख लागेको छ । देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेन्डा छैन । न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंसको भर्त्सना गरियो । यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन ?,” उनले प्रश्न गरे ।
वडाध्यक्षहरूले आगजनी हुँदा महानगरको दमकल समयमा परिचालन हुन गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् । उनीहरूले रेकर्ड हेर्दा दमकल समयमै निस्केको तर ठूलो क्षति भइसकेपछि मात्रै पुगेको भन्दै आपत्ति जनाए ।













