यी हुन् गण्डकीमा एमालेबाट १८ क्षेत्रका सम्भावित उम्मेदवार
वि.सं.२०८२ पुस २५ शुक्रवार १२:३६
shares

दिप प्रज्वलन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशअन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकाङ्क्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ । क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका नामलाई रायसहित केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १२१ जना सिफारिस भएका छन् । सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङ्जाबाट २१ जना, तनहुँबाट १८ जना आकांक्षी छन् ।
गण्डकीका केही निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ भने कतिपय क्षेत्रमा ठुलो संख्यामा आकाङ्क्षीहरूको नाम समावेश छ । केन्द्रीय कमिटीले यही सिफारिसका आधारमा अन्तिम उम्मेदवारको टुङ्गो लगाउनेछ । नवलपुर–२, बागलुङ–२ र मनाङमा एकल सिफारिस भएको छ । नवलपुर–२ बाट तिल बहादुर महत क्षेत्री, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे र मनाङबाट पोल्देल छोपाङ गुरुङको नाम एकल सिफारिस भएको एमाले प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।
कसले पाउलान् टिकट ?
उम्मेदवार आकाङ्क्षीको नाम सिफारिससँगै गण्डकीमा कसले टिकट पाउलान् भन्ने चर्चा सुरु भएको छ । लमजुङबाट केन्द्रीय उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ नै प्रतिस्पर्धामा उत्रिले पक्का छ । उनीसहित लमजुङबाट ६ जनाको नाम सिफारिस भएको छ ।त्यसो त जमिन्द्रमान घले पनि टिकटका लागि प्रवल दावेदार हुन्, तर गुरुङले आफू नउठे लमजुङमा अरुले चुनाव जित्ने सम्भावना नरहेको भन्दै आएका छन् ।
तनहुँ–१ मा भगवती न्यौपानेको सम्भावना बढी देखिन्छ । यसअघि राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री बनिसकेकी उनी पार्टी अध्यक्ष केपी ओलीको निकट मानिन्छिन् । यद्यपि उनलाई महासचिव शंकर पोखरेल निकट रहेको पनि भनिन्छ । क्षेत्र नम्बर १ बाट पूर्णबहादुर गुरुङलाई पनि दाबेदार मानिएको छ, तर ८ आकाङ्क्षीलाई पन्छाएर न्यौपानेले नै टिकट उछिट्याउने पक्काजस्तै छ ।
तनहुँ–२ मा भिडन्त रोचक छ । यहाँ केन्द्रीय सदस्य किरण गुरुङ र केदार सिग्देलको दाबी बढी देखिन्छ । स्रोतका अनुसार यो क्षेत्रबाट केदारले टिकट पाउने सम्भावना बढी छ । जिल्ला अध्यक्ष हरिराज कँडेल पनि प्रतिस्पर्धाको नजिकै छन् । तुलनात्मक रूपमा कमजोर संगठन रहेको गोरखाबाट चुनाव लड्न चक्रे मिलन तयार भएका छन् । क्षेत्र नम्बर २ बाट उनले टिकट पाउने धेरैको आकलन छ, तर उनको आगमनमा धेरैले आलोचना पनि गरिरहेका छन् ।
अघिल्लो पटक अब्दुस मियाँलाई प्रचण्डसँग प्रतिस्पर्धामा उठाएको एमालेले अहिले चक्रे मिलनलाई टिकट दिनु खासै नौलो हुने छैन । बाबुराम थापा क्षेत्र नम्बर २ बाट उठ्ने सम्भावना पनि उत्तिकै छ ।
क्षेत्र नम्बर १ मा विशाल थापाको सम्भावना बढी छ । केही समय पार्टीबाट निष्क्रिय उनी क्षेत्र नम्बर १ बाट टिकट दिने गरी नै सक्रिय बनाइएको एमाले वृत्तमा चर्चा छ । उनलाई महासचिव पोखरेल निकट मानिन्छ । त्यसो त, उनी गण्डकीका संस्थापक भौतिक पूर्वाधार विकासमन्त्री तथा एमाले गोरखाका इन्चार्ज रामशरण बस्नेतका नातेदार (भाइ) हुन् । बस्नेत चुनाव नलडेको खण्डमा उनले टिकट पाउनेछन् ।
स्याङ्जा क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङ अहिलेका प्रमुख दाबेदार हुन् । भुईं तहमा उनको राम्रो प्रभाव भएकाले उनलाई नै टिकट दिन सक्ने बुझिएको छ । यद्यपि, ६ जना यहाँबाट प्रतिस्पर्धामा छन् । जिल्ला इन्चार्ज सीमाकुमारी क्षेत्री पनि प्रमुख दावेदार हुन् । क्षेत्र नम्बर २ बाट भने सूर्यप्रसाद गैरे पारसलाई प्रमुख दावेदार मानिएको छ । खिम थापा पालिका अध्यक्ष भएको र केन्द्रीय सचिव पद्या अर्याल समानुपातिकमा बसेपछि उनी निकट पारसलाई प्रत्यक्षमा उम्मेदवार बनाउने सम्भावना बुझिएको छ ।
म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ उम्मेदवारमा दोहोरिने सम्भावना छ । पर्वतबाट निवर्तमान सांसद पदम गिरी नै उम्मेदवार हुने निश्चितजस्तै छ, तर पर्वत एमालेमा अहिले उनी विरुद्धका आवाज बाक्लिएको छ । उनलाई चुनाव जित्न पहिलेजस्तो सहज भने हुने छैन ।
बागलुङ–१ बाट धेरैले इन्द्रलाल सापकोटालाई उम्मेदवार बनाउनुपर्ने माग राखे पनि इन्चार्ज मना केसीलाई टिकट दिन सक्ने धेरैको बुझाई छ ।
नवलपुर १ मा रविन्द्र अधिकारीले टिकट पाउन सक्छन् । उनी केन्द्रीय सदस्य भए पनि भुईं तहमा भने भगिरथ सापकोटा राम्रो भएको एमालेको आन्तरिक रिपोर्टिङ छ ।
सबैभन्दा चासोका साथ हेरिएको कास्कीमा भने बाहिर आएको जस्तो होहल्लाले काम नगर्ने एमाले नेताहरू बताउँछन् । क्षेत्र नम्बर १ मा धेरैले दिलिप न्यौपानेलाई उम्मेदवारका रूपमा लिएका छन् भने २ बाट रश्मी आचार्य र ३ बाट माधव बास्तोलाको नाम बढी सुनिन्छ । जेनजी आन्दोलनपछि युवा पुस्तामा एमाले झार्नुपर्ने माग धेरैको छ ।
यद्यपि, क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी वा निवर्तमान सांसद मनबहादुर गुरुङलाई अघि सार्न सक्ने अनुमान छ । कास्की गुरुङ बाहुल्य भएको कारण एउटा क्षेत्रबाट कम्तीमा गुरुङलाई टिकट दिनुपर्ने आवाज बलियो छ । त्यसो त, प्रदेश इन्चार्ज खगराज अधिकारीको जोडबल दिलिपलाई टिकट दिलाउन छ । क्षेत्र नम्बर २ मा पनि जिल्ला इन्चार्ज कृष्ण थापालाई दाबेदार मानिएको छ । उनी नभए प्रभा कोइरालालाई अघि सार्ने बुझिएको छ ।
क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद दामोदर बैरागीलाई नै निरन्तरता दिन सक्ने पनि बुझिएको छ । यद्यपि दलित समुदायको बाक्लो उपस्थिति भएका कारण निर्वाचन जित्न जगत विश्वकर्मालाई टिकट दिँदा सहज हुने धेरैको सुझाव छ ।
मुस्ताङबाट इन्द्रधारा विष्ट बलिया दाबेदार हुन् । उनको नाम १ नम्बरमै सिफारिस गरिएको छ, तर एमाले स्रोतका अनुसार टासी स्याङ्बो गुरुङसेनीलाई उम्मेदवार बनाउने सम्भावना बढी छ ।
‘हामीले लोकतान्त्रिक पद्धति अनुसार तल्लो तहबाट आएका सुझाव र आकाङ्क्षीहरूको भावनालाई सम्मान गर्दै सबै नाम केन्द्रमा पठाएका छौँ,’ सचिव दवाडीले भने, ‘अब केन्द्रीय कमिटीले उम्मेदवारको योग्यता, लोकप्रियता र जित्ने आधार हेरेर अन्तिम निर्णय गर्नेछ ।’ एमालेका आकाङ्क्षी सिफारिससँगै गण्डकीमा चुनावी सरगर्मी बढेको छ ।













