अमेरिकाले एकैदिन ९१ नेपालीलाई गर्‍यो डिपोर्ट, चार्टर विमानमार्फत नेपाल आइपुगे

741
shares
काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो ।

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन ।

“अमेरिकाबाट डिपोर्ट भएर एकैदिन ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । उहाँहरूलाई अमेरिकाले चार्टर विमानमा राखी पठाएको हो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले  भने ।

वरिष्ठ अध्यागमन अधिकृत भण्डारीका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार (माघ ५) काठमाडौं आइपुगेका थिए ।

यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा राखी पठाएको थियो ।

गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । सो दिन अमेरिकाले चाटर्ड विमान राखेर ३७ जना नेपालीलाई पठाएको थियो ।

त्यस्तै, जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा नेपाल पठाएको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकलाई डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका नेपाली काठमाडौं आउनुभन्दा केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिनेगरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खास गरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।

अमेरिकाले अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेकोजस्ता आरोप डिपोर्ट भएकाहरूमाथि लगाएको छ ।