अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा
वि.सं.२०८३ वैशाख २५ शुक्रवार ११:१३
shares

काठमाडौँ । नेपालमा कम्पनी दर्ता र खारेजीको प्रक्रियामा उल्लेख्य सुधार आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि समयसीमा तोकेर कार्य सम्पादन गरिरहेको जनाएको छ ।
कार्यालयले कम्पनीको नाम दर्ता अनलाइन अनुरोध प्राप्त भएको १ कार्यदिन भित्र, नयाँ कम्पनी दर्ता तोकिएको ढाँचामा निवेदन प्राप्त भएको १ कार्यदिन भित्र, दर्ता पश्चातका कार्यहरू सामान्यतया १ देखि ३ कार्यदिन भित्र र कम्पनी खारेजी ५ कार्यदिन भित्र निर्णय हुने जनाएको छ ।
यसअघि कम्पनी दर्ता हुन आवेदन दिएको मितिले सात दिन लाग्दथ्यो । खारेज (बन्द) गर्न त झनै सकस थियो । अब भने छोटो समयमै कम्पनी दर्ता र खारेज गर्न सकिने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।
यसअघि कति केमा कति समय लाग्थ्यो ?
कम्पनी ऐन २०६३ अनुसार नेपालमा कुनै पनि उद्योग, व्यापार वा व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कम्पनी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । कम्पनी स्थापना गर्न चाहने व्यक्ति वा समूहले सबैभन्दा पहिले प्रस्तावित नाम स्वीकृतिका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा विद्युतीय माध्यमबाट निवेदन दिनुपर्ने उल्लेख छ ।
सञ्चालनमा रहेको कम्पनी विभिन्न कारणले बन्द गर्नुपरेमा ऐनले खारेजीको स्पष्ट प्रक्रिया तोकेको छ । यदि कम्पनीले आफ्नो सम्पूर्ण ऋण र दायित्व तिर्न सक्छ भन्ने कुरामा सञ्चालकहरू विश्वस्त छन् भने सेयरधनीहरूको साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी स्वेच्छिक खारेजीको प्रक्रिया सुरु गर्न सकिन्छ । यसका लागि एक लिक्विडेटर र लेखापरीक्षक नियुक्त गरी कम्पनीको सम्पत्ति र दायित्वको राफसाफ गर्नुपर्दछ ।
नाम स्वीकृत भइसकेपछि संस्थापकहरूले कम्पनीको उद्देश्य, पुँजी र सञ्चालन विधि खुल्ने प्रबन्धपत्र तथा नियमावली लगायतका आवश्यक कागजातहरू कार्यालयमा पेस गर्नुपर्छ । यदि कम्पनी प्राइभेट भएमा एक जना र पब्लिक भएमा कम्तीमा सात जना संस्थापक हुनुपर्ने प्रावधान छ ।
कार्यालयले पेस गरिएका कागजातहरूको आवश्यक जाँचबुझ गरी निवेदन परेको सात दिनभित्र कम्पनी दर्ता गरी दर्ताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था थियो । त्यसपछि मात्र कम्पनीले कानुनी रूपमा आफ्नो कारोबार सुरु गर्न पाउने ऐनमा उल्लेख छ ।
तर अहिले अनलाइनबाट आवश्यक कागजातसहित आवेदन दिएको १ कार्यदिनमा कम्पनी दर्ता भइरहेको कम्पनीका उप–रजिस्ट्रार एवं सूचना अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार विगतमा झन्झटिलो मानिने कम्पनी खारेजी प्रक्रियालाई पनि कार्यालयले छिटो–छरितो बनाएको छ । कम्पनी खारेजीका लागि अनलाइन माध्यमबाट रीतपूर्वक पेस भएका कागजातहरू उपर ५ कार्यदिन भित्रै अन्तिम निर्णय दिने व्यवस्था मिलाइएको छ । यसअघि यो प्रक्रिया निकै समय लाग्ने र झन्झटिलो हुने गुनासो थियो ।
सञ्चालनमा रहेको कम्पनी विभिन्न कारणले बन्द गर्नुपरेमा ऐनले खारेजीको स्पष्ट प्रक्रिया तोकेको छ । यदि कम्पनीले आफ्नो सम्पूर्ण ऋण र दायित्व तिर्न सक्छ भन्ने कुरामा सञ्चालकहरू विश्वस्त छन् भने सेयरधनीहरूको साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी स्वेच्छिक खारेजीको प्रक्रिया सुरु गर्न सकिन्छ । यसका लागि एक लिक्विडेटर र लेखापरीक्षक नियुक्त गरी कम्पनीको सम्पत्ति र दायित्वको राफसाफ गर्नुपर्दछ ।
सम्पूर्ण सरकारी बक्यौता, कर्मचारीको पारिश्रमिक र ऋण चुक्ता गरिसकेपछि बाँकी रहेको सम्पत्ति सेयरधनीहरूलाई बाँडफाँट गरिन्छ र अन्त्यमा कार्यालयले कम्पनी दर्ता खारेज भएको सूचना सार्वजनिक गर्दछ ।
कम्पनी बन्द भए पनि दर्ता रहँदाका बखत सञ्चालक वा सेयरधनीहरूले गरेको व्यक्तिगत वा कानुनी जिम्मेवारीबाट भने उनीहरू पूर्ण रूपमा मुक्त हुँदैनन् र पुरानो दायित्वका लागि उनीहरूमाथि कानुनी कारबाही चल्न सक्ने व्यवस्था ऐनमा छ ।
यसका अतिरिक्त यदि कुनै कम्पनीले दर्ता भएको लामो समयसम्म पनि कारोबार सुरु गरेन वा लगातार तीन आर्थिक वर्षसम्म वार्षिक विवरण र लेखापरीक्षण प्रतिवेदन कार्यालयमा बुझाएन भने कम्पनी रजिष्ट्रारको कार्यालयले आफैँ पनि दर्ता खारेजीको प्रक्रिया अगाडि बढाउन सक्छ । यस्तो अवस्थामा कार्यालयले सम्बन्धित कम्पनीलाई आफ्नो दर्ता किन खारेज नगर्ने भनी स्पष्टीकरण सोधेर दुई महिनाको समय दिने गर्दछ ।
तोकिएको समयभित्र चित्तबुझ्दो जबाफ नआएमा वा कम्पनी सञ्चालनमा नरहेको पुष्टि भएमा कार्यालयले उक्त कम्पनीको दर्ता खारेज गरी सोको जानकारी सार्वजनिक रूपमा प्रकाशन गर्दछ ।
कम्पनी बन्द भए पनि दर्ता रहँदाका बखत सञ्चालक वा सेयरधनीहरूले गरेको व्यक्तिगत वा कानुनी जिम्मेवारीबाट भने उनीहरू पूर्ण रूपमा मुक्त हुँदैनन् र पुरानो दायित्वका लागि उनीहरूमाथि कानुनी कारबाही चल्न सक्ने व्यवस्था ऐनमा छ ।
खारेजीको निश्चित अवधि थिएन
कम्पनी ऐन २०६३ अनुसार कागजात बुझाएको ठ्याक्कै कति दिनमा खारेजी हुन्छ भन्ने कुरा खारेजीको प्रक्रिया र कम्पनीको दायित्वमा निर्भर रहन्छ । कम्पनी दर्ता गर्दा ७ दिनको समयसीमा तोकिए पनि खारेजीको हकमा भने निश्चित दिन तोकिएको छैन ।
कम्पनी ऐन अनुसार कम्पनी खारेजी स्वेच्छिक वा कार्यालयको सक्रियतामा हुन सक्छ । ऋण तिर्न सक्ने कम्पनीले विशेष प्रस्ताव पारित गरी, लिक्विडेटर नियुक्त गरेर एक वर्षभित्र सम्पूर्ण दायित्व राफसाफ गरी स्वेच्छिक खारेजी गर्न सक्छन् । अर्कोतर्फ लगातार तीन वर्षसम्म वार्षिक विवरण नबुझाउने कम्पनीलाई रजिष्ट्रार कार्यालयले ६० दिनको स्पष्टीकरण म्याद दिई दर्ता खारेज गर्न सक्छ । खारेजीको निश्चित समयसीमा नभए पनि लिक्विडेटरको अन्तिम प्रतिवेदन बुझाएपछि वा म्याद समाप्त भएपछि कार्यालयले आवश्यक जाँचबुझ गरी कम्पनीको दर्ता हटाउने निर्णय गर्दछ ।
कम्पनीको दर्ता खारेज भए तापनि सञ्चालक वा सेयरधनीहरू आफ्नो पुराना कानुनी र व्यक्तिगत दायित्वबाट भने मुक्त हुँदैनन् ।
दर्तादेखि खारेजीसम्मका सबै कार्य अनलाइनबाटै
कार्यालयले सेवाग्राहीको भौतिक उपस्थितिलाई शून्यमा झार्ने ‘फेसलेस’ सेवा पद्धति अपनाउँदै कम्पनी प्रशासनलाई अझ पारदर्शी र सुगम बनाएको छ । २०८२ चैत २२ गतेदेखि कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण कार्य अनलाइनबाटै हुने भएकाले अब सेवाग्राहीहरू कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने व्यवस्था पनि कार्यालयले गरेको छ । यसै सन्दर्भमा कार्यालयले असम्बन्धित व्यक्ति र बिचौलियाहरूको प्रवेशमा पूर्ण रोक लगाउँदै केवल आधिकारिक प्रतिनिधिहरूलाई मात्र परिचयपत्रका आधारमा प्रवेश दिने नीति अख्तियार गरेको छ ।
कम्पनी स्थापनापछिका अन्य प्रशासनिक कार्यहरू जस्तै सेयर लगत, सञ्चालक परिवर्तन र प्रबन्धपत्र संशोधन जस्ता सेवाहरूलाई पनि ३ कार्यदिन भित्रै सम्पन्न गर्ने गरी समयसीमा तोकिएको छ ।
उपरजिष्ट्रार ज्ञवालीका अनुसार प्रत्येक कम्पनीका लागि छुट्टै डिजिटल खाताको व्यवस्था गरिएको छ, जसले गर्दा कम्पनीको दर्तादेखि खारेजीसम्मका सबै विवरण र कागजातहरू स्वचालित रूपमा अनलाइनमै उपलब्ध हुनेछन् । प्रविधिको यो उच्चतम प्रयोग र सेवा प्रवाहमा तोकिएको निश्चित समयसीमाले गर्दा उद्योगी व्यवसायीहरूले झन्झटमुक्त वातावरणमा आफ्नो व्यवसाय सञ्चालन र आवश्यकता अनुसार बन्द समेत गर्न सक्ने विश्वास लिइएको छ ।
कति दर्ता र खारेज भए ?
हालसम्म नेपालमा कुल ३ लाख ७१ हजार ९९८ कम्पनी दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार उक्त संख्यामा कम्पनी दर्ता भएको पाइएको छ ।
कम्पनीका अनुसार हालसम्म ५६ हजार ९२ कम्पनीको नाम स्वीकृत गरेको छ भने ४ लाख ३९ हजार ९१६ वटा डिजिटल सिग्नेचरमार्फत पत्र जारी गरेको छ ।
यस्तै अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई तीव्र बनाएको कार्यालयले दर्ता पश्चातका सेवाहरू ९५ हजार ८२१ पटक प्रदान गरेको छ । यस्तै, २ हजार ८३५ वटा कम्पनीको दर्ता खारेजी प्रक्रिया सम्पन्न भएको छ ।
कम्पनी निर्देशिका संशोधन गर्दै
कम्पनी दर्ता, सञ्चालन र बन्द गर्नेलगायतका प्रक्रियालाई सहज बनाउन तथा समय सान्दर्भिक बनाउन कार्यालयले ‘कम्पनी निर्देशिका’लाई परिमार्जन गर्दैछ ।
कार्यालयले निर्देशिका संशोधनका लागि सरोकारवाला र सर्वसाधारणबाट सार्वजनिक सुझाव आह्वान गरेको थियो ।
कम्पनी रजिस्ट्रारको कार्यालयका उप–रजिस्ट्रार एवं सूचना अधिकारी ज्ञवालीका अनुसार अहिले कार्यान्वयनमा रहेको निर्देशिकालाई समयसापेक्ष बनाउन संशोधनको प्रक्रिया अगाडि बढाइएको हो । ज्ञवालीले नयाँ निर्देशिकाको मस्यौदा (ड्राफ्ट) तयार भइरहेको तर हाललाई पुराना व्यवस्थाहरूमा के–कस्ता सुधार आवश्यक छन् भन्नेबारे सुझाव मागिएको जानकारी दिए ।
कार्यालयले कम्पनी दर्ता र प्रशासनलाई अझ सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले निर्देशिका संशोधन गर्न लागेको बुझिएको छ । इच्छुक व्यक्ति वा संस्थाहरूले कार्यालयको वेबसाइटमा रहेको मौजुदा निर्देशिका अध्ययन गरी आफ्ना सुझावहरू उपलब्ध गराउन सक्नेछन् ।
‘हामीले पुरानो निर्देशिका समयसान्दर्भिक बनाउन संशोधनको तयारी गरेका हौँ,’ ज्ञवालीले भने, ‘अहिले कार्यालयको वेबसाइटमा रहेको पुरानो निर्देशिकामा के कुरा थप गर्नुपर्ने वा परिमार्जन गर्नुपर्ने हो, त्यसमा आधारित भएर सुझाव दिन हामीले आग्रह गरेका छौँ ।’
कार्यालयले वैशाख पहिलो साता सुझावका लागि सूचना जारी गरेको थियो । सूचनाअनुसार वैशाख २० गतेसम्म सुझाव पठाउन आग्रह गरेको थियो ।
ज्ञवालीका अनुसार प्राप्त भएका उपयुक्त सुझावहरूलाई समेटेर नयाँ एकीकृत निर्देशिका तयार गरिने छ । ‘अहिले नै नयाँ ड्राफ्ट बाहिर ल्याउने गरी तयार भइसकेको छैन, तर प्राप्त सुझावहरूका आधारमा एकीकृत निर्देशिका तयार भएपछि त्यसलाई फेरि सार्वजनिक गरी थप राय प्रतिक्रिया लिइनेछ,’ उनले भने ।
कार्यालयले कम्पनी दर्ता र प्रशासनलाई अझ सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले निर्देशिका संशोधन गर्न लागेको बुझिएको छ । इच्छुक व्यक्ति वा संस्थाहरूले कार्यालयको वेबसाइटमा रहेको मौजुदा निर्देशिका अध्ययन गरी आफ्ना सुझावहरू उपलब्ध गराउन सक्नेछन् ।













