देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
वि.सं.२०८३ असार १९ शुक्रवार १८:०१
shares

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘हामीले महाराजगन्जमा सम्पर्क कार्यालयका लागि घर लिएका छौँ । त्यहाँ रङरोगन भइरहेको छ । त्यो कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय बैठकमा भएको छ,’ डा. महतले भने ।
बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित थिए ।
बैठकमा राष्ट्रिय भेला बोलाउने विषयमा पनि कुराकानी भएको छ । भेला कहिले बोलाउने भन्ने निश्चित भने २२ गते सम्पर्क कार्यालयमा बस्ने बैठकले तय गर्ने नेता डा। महतले जानकारी दिए ।











