काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले विहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।
बुधबार सिंहदरवारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिए । भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भनें ।’
सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भन्ने जवाफ दिएका छन् । त्यस अगाडि सभामुख अर्यालले बिभिन्न राजनीतिका दलका नेताहरूसँग समेत भेटेका थिए । सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । मंगलबार सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।
भेटका क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो । बिहीबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।














