बाटो थाहा नपाएको बहाना पारेर सोध्ने अनि सिक्री लुटेर भाग्ने समूह पक्राउ

13
shares

काठमाडौं । प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका कर्मा तामाङको समूहले उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने गरेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कर्मालाई शनिबार (साउन १६) राति बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा सिक्री लुटपाट गरेर भाग्दै गर्दा गोली प्रहार गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्माको टिम नै लुटपाटमा संलग्न देखिएको प्रहरीले जनाएको छ । कर्मालाई गोली हानेर नियन्त्रणमा लिएलगत्तै प्रहरी टोलीले थप पाँचजनालाई पक्राउ गरेको छ ।

यो समूहले विभिन्न क्षेत्रमा महिलालाई बाटो सोध्ने र त्यही बहानामा सुनको सिक्री लुटपाट गरेर भाग्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरूले एकान्त ठाउँमा विशेष गरी महिला र वृद्धवृद्धालाई ‘टार्गेट’ गर्ने र लुटपाट गरेर भाग्ने गरेको खुलेको प्रहरीले जनाएको छ । यो समूहबारे थप अनुसन्धान गरिरहेको परिसर काठमाडौंका प्रवक्ता एवं एसपी दानबहादुर थापाले जानकारी दिए ।