अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र कमलामध्ये को बलियो ?

  • बराक ओबामाको समर्थन कमलालाई
  • विश्वकै शक्तिशाली देश अमेरिकामा राष्ट्रपति चुनावको सरगर्मी बढ्दो छ । यो रेसमा अमेरिकाका दुई प्रमुख दल रिपब्लिकन पार्टीबाट डोनल्ड ट्रम्प र डेमोक्रेटिकबाट कमला ह्यारिस मैदानमा हुनेछन् ।

    डेमोक्रेटिकबाट कमला उम्मेद्वार हुने पक्काजस्तै छ । रिपब्लिकनबाट ट्रम्प औपचारिक उम्मेदवार हुन् । यसअघि राष्ट्रपति जो बाइडेन रेसमा थिए । यद्यपि, उनी बाहिरिसकेका छन् ।

    बाइडेन रेसमा हुँदा ट्रम्पले भन्ने गर्थे, ‘तिनी बुढा भइसके, तिनलाई जोकोहीले भ्रमित पार्न सक्छ ।’ तर, अब ट्रम्पका अगाडि ५९ वर्षकी कमला प्रतिस्पर्धी छिन् । अब कमलाले ट्रम्पलाई त्यही भन्न सक्छिन्, जुन बाइडेनलाई ट्रम्पले भन्ने गर्थे ।

    निकै रोचक अपेक्षा गरिएको यो प्रतिस्पर्धामा को शक्तिशाली छ त ? कसका सामुन्ने कस्ता अवसर र चुनौती छन् ? यसबारे बीबीसीका उत्तर अमेरिका संवादाता एन्थनी जर्चरले विश्लेषण गरेका छन् ।

    उनका अनुसार, पूर्वराष्ट्रपति ट्रम्पलाई पराजित गर्नु कमलाको सबैभन्दा ठूलो चुनौती हुनेछ । राष्ट्रपति पदमा कमला उम्मेद्वारीले एकातिर डेमोक्रेट्समा नयाँ उत्साह दिनेछ, अर्कातिर केही कमजोरी बाहिर पनि ल्याउने छ । ती कमजोरी जुन बाइडेन रेसमा रहँदा खासै ठूलो चिन्ताको विषय थिएनन् ।

    हालैको चुनावी सर्वेक्षणमा कमलाभन्दा पूर्वराष्ट्रपति ट्रम्प केही अगाडि देखिए । उनको स्थिति राष्ट्रपति बाइडेनले उम्मेदवारी फिर्ता लिनुभन्दा अगाडिकै जस्तो थियो । सर्वेक्षणको अनुमानित आँकडा र वास्तविक आँकडाबीच उचार-चढावको सम्भावना सधैँ रहने गर्छ ।

    ट्रम्प समर्थकको उत्साहजस्तै आफ्ना समर्थकलाई सक्रिय पार्नु डेमोक्रेट्सका लागि निकै महत्त्वपूर्ण छ । यसपल्ट चुनावी अभियानका लागि सबैभन्दा धेरै चन्दा डेमोक्रेट्सले पाएका छन् ।

    राष्ट्रपति बाइडेनको फिट्नेस र प्रचार अभियानलाई जारी राख्ने क्षमतामा तीन साताभन्दा धेरै समयको माथापच्चीपछि डेमोक्रेट्स अहिले उत्साहित छन् । सदनकी पूर्वअध्यक्ष न्यान्सी पेलोसीसहित अन्य सबै प्रमुख सम्भावित प्रतिद्वन्द्वीले पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवारका रूपमा कमलाको उम्मेदवारीलाई समर्थन गरेका छन् । न्यान्सी डेमोक्रेटिक राजनीतिमा सबैभन्दा प्रभावशाली नेतामध्ये एक हुन् ।

    यतिबेला समग्रमा अमेरिकामा हुने राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाको माहौल बनिरहेको छ । पूर्वराष्ट्रपति ट्रम्पप्रति बेरुची र प्रमुख स्विङ राज्यमा मध्यमार्गी मतदातालाई आफूतिर तान्नु अनि पछिल्लो केही समयदेखि निराशातिर बढिरहेको आफ्नो डेमोक्रेटिक भोट बेसलाई सक्रिय गर्नु उपराष्ट्रपति कमलाका लागि चुनौती र अवसरसमान हुनेछ ।

    ट्रम्प समर्थकको उत्साहजस्तै आफ्ना समर्थकलाई सक्रिय पार्नु डेमोक्रेट्सका लागि निकै महत्त्वपूर्ण हुनेछ । यसपल्ट चुनावी अभियानका लागि सबैभन्दा धेरै चन्दा डेमोक्रेट्सले पाएका छन् । बाइडेनको घोषणापछि २४ घण्टामा ८ करोड डलरभन्दा बढी धनराशि डोनेसनबाट जुट्यो । यस चुनावमा अहिलेसम्म कुनै पनि उम्मेदवारका लागि एक दिनमा उठेको सबैभन्दा बढी डोनेसन यही हो ।

    बाइडेन–ह्यारिसको चुनाव प्रचारका लागि जम्मा गरिएको फन्डबाट आउने करिब १० करोड डलर कमलाका लागि चुनाव प्रचारमा बलियो आर्थिक आधार हुनेछ । कमला ह्यारिस उम्मेद्वार बन्दा राष्ट्रपति बाइडेनको उमेरलाई देखाएर घेर्ने ट्रम्पको प्रयास असफल हुनेछ ।

    पछिल्ला केही महिनादेखि चुनाव अभियानमा ट्रम्पले बाइडेनलाई बढी उमेर भएकाले कमजोर र सजिलै भ्रमित हुने भन्दै निसाना बनाइरहेका थिए । चार साताअघि राष्ट्रपतीय बहसमा बाइडेनको खराब प्रदर्शनपछि यस खालको चर्चा अझ तीव्र बन्यो ।

    ७८ वर्षीय ट्रम्पको तुलनामा ५९ वर्षीया उपराष्ट्रपति ह्यारिस धेरै ऊर्जावान् प्रचारक हुनेछिन् । पार्टीका लागि अनुकूल माहौल बनाउनमा पनि उनी सक्षम छन् । पूर्वराष्ट्रपति ट्रम्पको उमेरलाई मुद्दा बनाएर कमलाले माहौल आफ्नो पक्षमा पार्न सक्छिन् ।

    कमला श्वेत मतदाताको समर्थन पनि आफ्नो पक्षमा पार्न सफल हुन सक्छिन् । हालैको सर्वेक्षणअनुसार, श्वेत मतदाताले बाइडेनलाई मन पराइरहेका थिएनन् । बाराक ओबामाको सन् २००८ र २०१२ को विजयी गठबन्धनजस्तै कमलाले पनि यसपल्ट चुनावमा श्वेत मतदाता, अल्पसंख्यक र युवा मतदातालाई एकसाथ गर्न सफल रहिन् भने ट्रम्पविरुद्ध उनको स्थिति बलियो हुनेछ ।

    कमला ह्यारिस उम्मेद्वार बन्दा राष्ट्रपति बाइडेनको उमेरलाई देखाएर घेर्ने ट्रम्पको प्रयास असफल हुनेछ ।

    खासगरी केही स्विङ राज्यमा यसपल्टको चुनावले चित्र तय गर्नेछ । एक अभियोजकका रूपमा कमलाको पृष्ठभूमिले पनि उनको छविलाई चम्काउन सक्छ ।

    सन् २०२० को चुनाव अभियानमा वामपन्थीद्वारा दिइएको नारा ‘कमला इज ए कप’ले यसपल्ट कमलालाई चुनावमा ट्रम्पविरुद्धको प्रचारमा मद्दत गर्न सक्छ । उपराष्ट्रपति कमला गर्भपातको मुद्दामा पनि बाइडेन सरकारको तर्फबाट पोइन्ट पर्सन रहँदै आएकी छन् ।

    गर्भपातको मुद्दा हालैको चुनावमा डेमोक्रेटिक भोट बेसलाई आकर्षित गर्नमा सबैभन्दा प्रभावशाली मुद्दामध्ये एक सावित भएको छ । डेमोक्रेटिक क्याम्पेन कमिटीका प्रमुख एवं न्युयोर्कका पूर्वकांग्रेसी स्टिभ इजरायलले बीबीसी अमेरिकास्ट पोडकास्टमा भनेका छन्, ‘मलाई लाग्छ, उनले देशभर उपनगरीय महिलालाई याद दिलाउनेछिन्, खासगरी युद्धको त्यो मैदानमा, कि प्रजनन् अधिकारका साथ के दाउमा लगाइएको छ ।’

    कमला ह्यारिसको तमाम तागतका बावजुद केही डेमोक्रेट्स सुरुमा बाइडेनलाई राष्ट्रपतिको रेसबाट हटाउने पक्षमा थिएनन् । गर्भपातको विषयमा डेमोक्रेट्स समर्थकहरूमा उत्साह पैदा गर्नुका साथै उपराष्ट्रपतिका रूपमा कमलाको रकेर्ड मिल्दोजुल्दो छ । प्रशासनको सुरुवाती दिनमा कमला ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा आप्रवासी संकटको मूल कारणको समाधान गर्ने जिम्मेवारी सुम्पिइएको थियो ।

    एनबीसी न्युज एंकर लेस्टर होल्टसँग २०२१ जुनमा गरेको अन्तर्वार्तासहित केही गलत कदम र बयानले कमलाको छविलाई हानि गरेको छ । रिपब्लिकनले पहिलेदेखि नै राष्ट्रपतिको ‘बोर्डर जार’का रूपमा कमलाको निन्दा गरिरहेका छन् ।

    साथै, सर्वेक्षणमा बाइडेन प्रशासनको अलोकप्रिय आप्रवासी नीतिलाई देखाएर कमलामाथि निसाना साँध्ने कोसिस गरिरहेका छन् । स्टिभ इजरायलले भने, ‘ती युद्धक्षेत्रमा डेमोक्रेट्सका लागि आप्रवासी एउटा सफ्ट स्पोटजस्तो हो । ती उपनगरमा बस्ने मतदाताका लागि महत्त्वपूर्ण मुद्दा हो । त्यहाँका मानिस आप्रवासन प्रणाली पर्याप्त रूपमा सफल नभएको मान्छन् ।’

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एक कमजोरी उम्मेद्वारका रूपमा उनको उचारचढावपूर्ण ट्रयाक रेकर्ड पनि हो । सन् २०२० मा डेमोक्रेटिक प्रेसिडेन्सियल नोमिनेसनको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो ।

    कमला ह्यारिसले सुरुवातमा अग्रताचाहिँ लिएकी थिइन् । तर, त्यसपछि उनको असफल साक्षात्कार, स्पष्टरूपले परिभाषित भिजनको कमी र खराब चुनाव प्रचार अभियानका कारण उनले सुरुवाती चुनावी प्रक्रियामै बाहिरिनुपरेको थियो ।

    कमलाका लागि सायद सबैभन्दा ठूलो चुनौती के पनि हो भने, उनी बाइडेनजस्तो राष्ट्रपति होइनन् । यस कारण कमलाले आफूलाई बाइडेनका केही अत्यधिक अलोकप्रिय निर्णयबाट अलग राख्न सक्छिन् ।

    रिपब्लिकनले राष्ट्रपति पदका लागि कमलालाई ‘निकै अप्रमाणित’ र ‘निकै जोखिमपूर्ण’ साबित गर्न पूरापूर कोसिस गर्दै ट्रम्पलाई नै एक मात्र प्रामाणिक उम्मेदवारका रूपमा पेस गर्ने कोसिस गर्नेछन् ।

    आउने दिनमा उपराष्ट्रपति कमलासँग अमेरिकी जनतामाझ पहिलोपल्ट आफ्नो नयाँ छाप छोड्ने मौका छ । यसमा उनी असफल भइन् भने पार्टीमा संघर्षको सुरुवात हुन सक्छ । अगस्टमा पार्टीको राष्ट्रिय सम्मेलनमा एक नयाँ नेताको चुनाव हुनेछ । पछिल्लो चार हप्तामा ह्वाइट हाउसको रेसमा तीव्र बदलाव आएको स्थतिमा कमलाले अब प्रमाणित गर्नुपर्नेछ, खासमा उनी ट्रम्पभन्दा कमजोर छैनन् भनेर । यसैबीच कमलालाई पूर्वराष्ट्रपति बराक ओबामाले पनि समर्थन गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation