इजरायललाई टर्कीले पनि दियो चुनौती, टर्कीका राष्ट्रपति एर्दोआनले नेतान्याहूको तुलना हिटलरसँग गरे
वि.सं.२०८१ साउन १५ मंगलवार १५:३७
shares
ASTANA, KAZAKHSTAN - JULY 3: (RUSSIA OUT) Turkish President Recep Tayyip Edrogan speaks next to Russian President Vladimir Putin during their bilateral meeting in the Ritz Hotel on July 3, 2024 in Astana, Kazakhstan. Vladimir Putin arrived to Astana to attend the Shanghai Cooperation Organization Sumit. (Photo by Contributor/Getty Images)
टर्कीका राष्ट्रपति रिसेप ताय्येप एर्दोआनले इजरायलभित्र पस्ने चेतावनी दिएका छन् । बीबीसीका अनुसार, विगतमा लिबिया र अजरबैजानको नार्गोनो–काराबाखमा पसेजसरी इजरायलमा पस्न सक्ने उनको चेतावनी छ ।
यद्यपि, उनले कस्तो खालको हस्तक्षेपको कुरा गर्न खोजका हुन् भनेर प्रस्ट्याएका छैनन् । इजरायलले गाजामा गरेको आक्रमणमा आम नागरिक मारिएकोमा एर्दोआनले आलोचना गर्दै आएका छन् । उनले हालै आफ्नो देशको रक्षा क्षेत्रको तारिफ गर्ने क्रममा इजरायलभित्र पस्ने अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘हामीले निकै बलियो रहनुपर्छ ताकि इजरायलले प्यालेस्टाइनमा घटिया हर्कत गर्न नसकोस् । हामी जसरी काराबाखमा पस्यौँ, जसरी लिबियामा पस्यौँ, इजरायलको हकमा यस्तै गर्न सक्छौँ ।’
एर्दोआनको यो अभिव्यक्तिमा इजरायली विदेशमन्त्री इजरायल काट्जले सद्दाम हुसेन र एर्दोआनको तस्वीर शेयर गर्दै सोसल मिडियामा लेखेका छन्, ‘एर्दोआन सद्दाम हुसेनको पाइलामा हिँडिरहेका छन् । उनलाई याद दिलाउँछौं, त्यहाँ के भएको थियो, कसरी अन्त्य भएको थियो भनेर ।’
एर्दोआनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको तुलना जर्मनीका पूर्व क्रुर शासक एडोल्फ हिटलरसँग गरेका छन् । उनको यो भाषण टीभीमा पनि प्रसारित भएको थियो । समाचार एजेन्सी रोयटर्सले यसबारे पार्टी प्रतिनिधिसँग जवाफ माग्दा कुनै प्रतिक्रिया दिइएन ।
द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, एर्दोआनले नेतन्याहूलाई हिटलरसँग तुलना गरे । उनले भने, ‘जसरी जनसंहारकर्ता हिटलरको अन्त्य भयो, त्यस्तै नरसंहार गर्ने नेतन्याहूको अन्त्य हुने छ ।’
प्यालेस्टाइनी बस्ने गाजाक्षेत्रमा इजरायलले गरेका क्रुर आक्रमणले विश्वका धेरै देश इजरायलसँग रुष्ट छन् । यही मुद्दामा लेबनानबाट हिजबुल्ला र यमनबाट हुथी विद्रोहीले पनि इजरायललाई निशाना बनाइरहेका छन् ।













