तारा बराल भन्छिन्, ‘६ महिनादेखि भागेर हिँड्दा पनि बाँच्न नदिने भए’

1K
shares

साइबर अपराधको आरोपमा पक्राउ परी केही साताअघि छुटेकी स्वघोषित अभियन्ता तारा बरालले ३१ जुलाईमा फेसबुकमा एक स्टाटस लेखिन्, जसमा उनले आफ्नो बाँच्ने उपाय नै नभएको बताएकी छन् । सोसल मिडियामा निकै सक्रिय उनको स्टाटस त्यसयता देखिएको छैन ।

बरालले आफूलाई फसाउन गिरोह सक्रिय रहेको दाबी बारम्बार गर्दै आएकी छन् । सोही गिरोहका कारण आफू ६ महिनादेखि लुकेर, भागेर हिँडिरहेको उनको भनाइ छ ।
यति मात्र होइन, आफूविरुद्ध मान्छे अपहरणसहितका १ दर्जन मुद्दा परेको पनि उनले खुलासा गरेकी छन् । तर, कसले, किन र कसरी फसाउन खोज्दैछन्, के आधारमा के–कस्ता मुद्दा हालेका छन् भन्नेबारे उनले खुलाएकी छैनन् ।

‘अबचाहिँ बाँच्न दिएनन् मलाई, मैले सहन सकिनँ’, उनले लेखेकी छन्, ‘मान्छे अपहरण गरेकोसहित भनेर झुठा मुद्दा १ दर्जन ठ्याक्कै पुर्‍याएछन् ।’

बरालले आफूलाई उक्त गिरोहले असाध्यै तनाव दिएको पनि उल्लेख गरेकी छन् । ‘सरकारी स्तर र प्रहरीबाटै खुलेआम अपराधी संरक्षण गरी मलाई नै फसाइरहेका छन्’, बरालले दाबी गरेकी छन् ।

उनले अन्तिममा लेखेकी छन्, ‘अबचाहिँ पर्खिन पनि सकिनँ । मेरो खान, बस्न, चित्त बुझाएर बाँँच्ने कुनै उपाय नै छैन ।’

पूर्वएआईजी रणबहादुर चन्दसँग झण्डै डेढ वर्षदेखि उनको लफडा चलिरहेको छ । केही साताअघि उनी साइबर ब्युरोको फन्दामा पर्नुको मूल कारण चन्दसँगको लफडा नै थियो । ‘मिडियाका हल्ला रोक्न’ भन्दै कागजमा गरेको विवाहको सहमति भाँडिएपछि दुई जनाबीचको सम्बन्ध बिग्रेको थियो । चन्दले आफू मातेका बेला झुक्याएर कागज गराइएको दाबी गरेका थिए भने बरालले परिपक्व साक्षीहरूमाझ चन्दकै सहमतिमा विवाह गर्ने कागज बनाइएको बताएकी थिइन् ।

यो विवाद, पछि महिला आयोगसम्म पुगेको थियो । बरालले एकपछि अर्को गर्दै चन्दले अश्लील बोलेको अडियो सार्वजनिक गरेपछि साइबर ब्युरोमा मुद्दा परेको थियो । पूर्वएआईजी चन्दले बरालले आफूलाई आत्महत्याका लागि बाध्य पार्न खोजेको भन्दै ब्युरोमा उजुरी दिएका थिए । सोही आधारमा पक्राउ परेकी बराल दुई साता थुनिएर निस्केकी थिइन् ।

तर, प्रहरीबाट निस्केपछि समेत उनको लफडा नसकिएको उनकै स्टाटसबाट पुष्टि हुन्छ । उनले राजीव कार्कीलगायतका केही व्यक्तिलाई पनि लाञ्छित गर्दै आएकी छन् ।
कुनै बेला भ्रष्टाचार र बेथितिविरुद्ध चर्को बोलेर चर्चामा आएकी बरालले दुई वर्षअघिसम्म आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँथिन् । तर, त्यसयता उनी व्यक्तिगत लफडाका कारण रक्षात्मक बन्न पुगेकी छन् । उनको पछिल्लो स्टाटस पढेर उनका कतिपय शुभचिन्तकले कुनै अप्रिय निर्णय नलिन आग्रह गरेका छन् ।