
साइबर अपराधको आरोपमा पक्राउ परी केही साताअघि छुटेकी स्वघोषित अभियन्ता तारा बरालले ३१ जुलाईमा फेसबुकमा एक स्टाटस लेखिन्, जसमा उनले आफ्नो बाँच्ने उपाय नै नभएको बताएकी छन् । सोसल मिडियामा निकै सक्रिय उनको स्टाटस त्यसयता देखिएको छैन ।
बरालले आफूलाई फसाउन गिरोह सक्रिय रहेको दाबी बारम्बार गर्दै आएकी छन् । सोही गिरोहका कारण आफू ६ महिनादेखि लुकेर, भागेर हिँडिरहेको उनको भनाइ छ ।
यति मात्र होइन, आफूविरुद्ध मान्छे अपहरणसहितका १ दर्जन मुद्दा परेको पनि उनले खुलासा गरेकी छन् । तर, कसले, किन र कसरी फसाउन खोज्दैछन्, के आधारमा के–कस्ता मुद्दा हालेका छन् भन्नेबारे उनले खुलाएकी छैनन् ।
‘अबचाहिँ बाँच्न दिएनन् मलाई, मैले सहन सकिनँ’, उनले लेखेकी छन्, ‘मान्छे अपहरण गरेकोसहित भनेर झुठा मुद्दा १ दर्जन ठ्याक्कै पुर्याएछन् ।’
बरालले आफूलाई उक्त गिरोहले असाध्यै तनाव दिएको पनि उल्लेख गरेकी छन् । ‘सरकारी स्तर र प्रहरीबाटै खुलेआम अपराधी संरक्षण गरी मलाई नै फसाइरहेका छन्’, बरालले दाबी गरेकी छन् ।
उनले अन्तिममा लेखेकी छन्, ‘अबचाहिँ पर्खिन पनि सकिनँ । मेरो खान, बस्न, चित्त बुझाएर बाँँच्ने कुनै उपाय नै छैन ।’
पूर्वएआईजी रणबहादुर चन्दसँग झण्डै डेढ वर्षदेखि उनको लफडा चलिरहेको छ । केही साताअघि उनी साइबर ब्युरोको फन्दामा पर्नुको मूल कारण चन्दसँगको लफडा नै थियो । ‘मिडियाका हल्ला रोक्न’ भन्दै कागजमा गरेको विवाहको सहमति भाँडिएपछि दुई जनाबीचको सम्बन्ध बिग्रेको थियो । चन्दले आफू मातेका बेला झुक्याएर कागज गराइएको दाबी गरेका थिए भने बरालले परिपक्व साक्षीहरूमाझ चन्दकै सहमतिमा विवाह गर्ने कागज बनाइएको बताएकी थिइन् ।
यो विवाद, पछि महिला आयोगसम्म पुगेको थियो । बरालले एकपछि अर्को गर्दै चन्दले अश्लील बोलेको अडियो सार्वजनिक गरेपछि साइबर ब्युरोमा मुद्दा परेको थियो । पूर्वएआईजी चन्दले बरालले आफूलाई आत्महत्याका लागि बाध्य पार्न खोजेको भन्दै ब्युरोमा उजुरी दिएका थिए । सोही आधारमा पक्राउ परेकी बराल दुई साता थुनिएर निस्केकी थिइन् ।
तर, प्रहरीबाट निस्केपछि समेत उनको लफडा नसकिएको उनकै स्टाटसबाट पुष्टि हुन्छ । उनले राजीव कार्कीलगायतका केही व्यक्तिलाई पनि लाञ्छित गर्दै आएकी छन् ।
कुनै बेला भ्रष्टाचार र बेथितिविरुद्ध चर्को बोलेर चर्चामा आएकी बरालले दुई वर्षअघिसम्म आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँथिन् । तर, त्यसयता उनी व्यक्तिगत लफडाका कारण रक्षात्मक बन्न पुगेकी छन् । उनको पछिल्लो स्टाटस पढेर उनका कतिपय शुभचिन्तकले कुनै अप्रिय निर्णय नलिन आग्रह गरेका छन् ।