
असार लागेदेखि नै तीजलक्षित गीतहरू आउने क्रम जारी छ । दर्जनौं गीत युट्युबमा रिलिज भइसकेका छन् भने दर्जनौं अरु सार्वजनिकको तयारीमा छन् ।
सार्वजनिक भएका केही गीतमा तीजको मौलिकता र मर्मको साटो अश्लीलता बढी भएको भनेर विवाद भइरहेको छ । तीजको दाबी गरेर निकालिएका केही गीत जस्तै, ‘मायाको पोको’, ‘बारुलाले डस्यो’, ‘गुलेली तन्कियो’, ‘रनन रन्काउँदै’लगायत विवादमा छन् । यी गीतमा तीजको रौनक कतै नझल्किने भनेर आलोचना भइरहेको छ । यीमध्ये कतिपय गीतलाई त देशभरका लोक सञ्चारकर्मी आवद्ध रहेको संगठन राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले प्रतिबन्ध नै लगाएको छ । त्यसपछि उसको निर्णयमा लोक तथा दोहोरी क्षेत्रका अन्य संघसंगठनले पनि ऐक्यबद्धता जनाएका छन् ।
कतिसम्म श्लील हो, कहाँदेखि अश्लील हो भन्ने विषय मानिसको बुझाइ, परिवेशअनुसार फरक पर्न सक्छ । त्यसैले यहाँ श्लील–अश्लीलतिर नजाऔँ । तर, गीत कुन सन्दर्भमा ल्याइँदैछ भन्ने कुरा सर्जक स्वयम्ले चाहिँ हेक्का राख्नुपर्ने विषय हो । पछिल्ला केही गीत देख्दा लाग्छ, मस्जिदमा श्लोक अनि मन्दिरमा नमाज पढिँदैछ ।
तीजमा अहिले पनि रोनाधोना, पिर, बेथा मात्र हुनुपर्छ भन्ने तर्क होइन । किनकि, विगतमा ‘भेरी पुल तर्न नसकेर माइत नआएकी’ महिलासँग अब त्यो समस्या छैन ।
कुनाकन्दरामा सडक पुगेको छ, नदीनालामा पुलहरू बनेका छन् । भाइ लिन नगएकै कारण तीजमा माइत नआउने भन्ने पनि बिरलै छ । त्यसैले पुराना धेरै सन्दर्भ आजका लागि विगत भइसके ।
तर, आधुनिकताको नाममा असम्बन्धित, असान्दर्भिक र उत्ताउला शब्दसहितका गीतलाई तीजको नाम दिनुले न सर्जकको साख बढ्छ न पर्वको मर्ममै न्याय हुन्छ । पछिल्लो समय एकथरी सर्जकले तडकभडकवाला शहरकेन्द्रित गीतमा जोड दिइरहेका छन्, अर्काथरीले ‘क्लब’ मा नाच्न, गाउन मिल्ने अनि अर्काथरीले टिकटक, युट्युबमा भाइरल गराउने उद्देश्यले गीत ल्याउने गरेका छन् । तीजलाई वास्तवमै अनुभूत गराउने गीत निकै कम मात्र निस्केका छन् ।
केही वर्षअघि सुन्दरमणि अधिकारीले लेखेको, विष्णु माझीले गाएको ‘चरी जेलैमा’ गीतले आजकै समयको प्रतिनिधित्व गर्छ । उक्त गीतमा शिवजीको आराधना पनि छ, ग्रामिण क्षेत्रमा महिलाले आज पनि भोग्नुपरेको पीडाको कथा पनि । यसै वर्ष शान्ति श्री परियारको स्वरमा रहेको ‘काली पसमकी’ बोलको गीतमा कुनै तडकभडक छैन, न दुईअर्थ लाग्ने शब्द नै । एक चेलीको बेदना बोल्ने यो गीतलाई दर्शकले खुब मन पराएका पनि छन् । दुई सातामा ३१ लाखपल्ट हेरिसकिएको छ । जबकि, भाइरल हुने होडबाजीमै निकालिएका उत्ताउला शब्दसहितका गीत गुणस्तरमा र भ्युजमा ‘काली पसमकी’ सँग तुलना हुन सक्दैन ।
भाइरल हुनका लागि पुराना गीत, भाका, शैलीलाई तोडमोड गर्नुपर्छ, अश्लीलता घुसाउनुपर्छ भन्ने हुँदैन । जस्तो कि, भारतमा एउटा शिव स्तोत्रा ‘हरहर शम्भू’ लाई अभिलिप्सा पाण्डे र जीतु शर्माले आधुनिक शैलीमा ल्याए । भजनको कुनै पनि शब्दलाई त्यसमा तोडमोड गरिएको छैन । यो गीतमा गैरहिन्दूले पनि खुब ‘इन्जोय’ गरेका थिए । यसको भ्युज २१९ मिलियन छ । सिर्जनशीलता र प्रतिभा हुँदा पुरानै सिर्जना वा शब्दलाई घच्चीको नयाँ बनाएर दिन सकिने प्रमाण हो यो भजन ।
तर, नेपालमा आधुनिकता देखाउन उत्ताउला, द्वीअर्थी शब्दले नपुगेर भिडियोमा उत्तेजक सिनसमेत देखाउने गरिएको छ । यसले लोक संस्कृतिमा चासो राख्नेहरूको चिन्ता बढाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बारम्बार सजग गराउँदै आए पनि दोहोरीदेखि तीजसम्मका गीतमा मौलिकतामाथिको अतिक्रमण रोकिएको छैन ।
लोक संगीतले नेपालको मौलिक कला, संस्कृतिको आभास गराउन सक्नुपर्छ । कुनै गीतमा मादल बज्छ भने त्यसले हामीलाई आफ्नोपन दिलाउँछ । तीजका अक्सर गीत लोक शैलीमा आइरहेका छन् । यो हिन्दु संस्कृतिबाट प्रेरित पर्व पनि हो । हिमालयपुत्री पार्वतीको विवाह भगवान् विष्णुसँग हुन लागेपछि उनलाई साथीहरूले भगाएर (हरण गरेर) एकान्त ठाउँमा लगेको पुराणमा उल्लेख छ । पार्वतीले त्यहीँ बसेर शिवजीको तपस्या गरिन् । लामो आराधनापछि शिवजी प्रकट भए र पार्वतीलाई वर माग्न भने । पार्वतीले शिवजीलाई पतिका रूपमा पाऊँ भनी वर मागिन् । त्यहीँबाट शिव र पार्वती एक भएका थिए । पुराणमा तीज पर्वको सम्बन्ध यही कथ्यसँग जोडिएको छ ।
विगतमा शिवपार्वतीको आराधनाबाहेक तीजका गीतमा विरह, वेदना र विद्रोह भाव हुन्थे । घरमा भोग्नुपरेका पीडा गीतमार्फत अभिव्यक्त गर्नु पुरुषप्रधान समाजमा एक खालको विद्रोह नै थियो । विस्तारै कालपरिस्थिति फेरिँदै हामी अहिलेको समाजमा आइपुगेका छौँ ।
अहिले पनि ग्रामिण महिलाको अवस्थामा ठूलो परिवर्तन आएको छैन । शहरबजारमै पनि सबै महिला क्लब, डिस्कोमै जान्छन् भन्ने छैन । सबैले तीजलाई तीजजस्तो नभएर मस्तीको दिन मान्छन् भन्ने छैन ।
कागजमा अधिकार दिइए पनि व्यवहारतः आज पनि महिलाहरूले पुरुषको तुलनामा निकै कम अवसर उपभोग गर्न पाएका छन् । यो भनेको, तीज गीतमा समावेश गर्नका लागि महिलाका पर्याप्त एजेण्डा छन् । बारुलाले डस्यो भनेर अर्थ न बर्थको गीत होस् वा ‘मायाको पोको’ भन्ने द्वीअर्थी गीत ल्याउनुभन्दा तीजमा महिलाका मुद्दालाई गीतकृत गर्न सके त्यसले एक समयकाल र परिवेशको दस्तावेज पनि बन्छ । फेरि पनि, त्यसलाई दर्शकले मन पराउने गरी कसरी प्रस्तुत गर्ने भन्ने कुरा सर्जककै सिर्जनशीलता र प्रतिभासँग जोडिएको छ । यस्तो एजेण्डामा सकिँदैन भने कम्तीमा मादल मुरली प्रयोग गरेर तीजको भन्दै उत्ताउला गीत नल्याएकै जाती हुन्छ । यस्ता गीत नआउँदा नेपाली लोक संगीतलाई कुनै घाटा हुँदैन, बरु हानि हुनबाट जोगाउँछ ।
गीत लेख्न, गाउन, ल्याउन सबै स्वतन्त्र छन् । कुन विषयमा लेख्ने, गाउने भन्ने कुरा पनि सर्जकको स्वतन्त्रताकै कुरा हो । यसमा कसैलाई यसो गर भन्नु जायज नहोला तर असार, साउनमा ल्याइएका जुनसुकै गीतलाई तीजको नाम दिनुचाहिँ आफैंमा बिडम्बनापूर्ण छ । तीजको नाममा ल्याइएका उत्ताउला गीतलाई हेरेर प्रोत्साहन गर्नु पनि कम बिडम्बनापूर्ण छैन । एक अन्तर्वार्तामा बद्री पंगेनी भन्दै थिए, ‘लोक तथा दोहोरी क्षेत्रमा बलियो नियामकको खाँचो छ ।’
उनको यो धारणा दोहोरी क्षेत्रको कुन कुन पक्षको सुधारसँग जोडिएको छ उनैले जानून् तर अहिलेको जस्तो छाडा छोडिए लोक तथा दोहोरी क्षेत्रले आफ्नो साख निरन्तर गुमाउँदै जाने भने पक्का छ । नियमन गरेर हुन्छ वा सर्जकलाई अभिमुकीकरण गरेर हुन्छ बेलैमा विकृति उन्मुख यात्रालाई रोक्न आवश्यक छ । नभए तीज गीत होस् वा दोहोरी सुन्न र हेर्न एयरफोन वा एयरपड अनिवार्य हुने समय धेरै पर छैन ।