बंगलादेशमा प्रहरी र सरकारविरोधी प्रदर्शनकारीबीच बढ्दो संघर्षमा कम्तीमा ९० जना मारिएका छन् ।
बंगलादेशका विद्यार्थी संगठनहरू सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । विद्यार्थी नेताले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
प्रहरीका अनुसार, सिराजंगल जिल्लामा हजारौँ मानिसले एउटा प्रहरी चौकीमा आक्रमण गरेका छन्, जसमा १३ प्रहरी अधिकारी मारिएका छन् ।
बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्नुपर्ने मागलाई लिएर गत महिनादेखि आन्दोलन भइरहेको छ । अहिले यो सरकारविरोधी ठूलो आन्दोलनमा परिणत भएको छ ।
स्थानीय मिडियाका अनुसार, आइतबार देशका विभिन्न ठाउँमा प्रदर्शन भए । प्रदर्शनकारीलाई तितरबितर पार्नका लागि प्रहरीले अश्रु ग्याँसको गोला छोड्यो । रबरको गोली हान्यो । यसबाहेक देशमा रातको समयमा कर्फयु पनि लगाइयो । प्रदर्शनमा अहिलेसम्म करिब २ सय जना घाइते पनि भएका छन् ।