दिगो शान्ति र सुशासनको आकाङ्क्षा पूरा गर्नु सबैको दायित्व होः राष्ट्रपति पौडेल

468
shares

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासनको आकाङ्क्षा पूरा गर्ने दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित ‘हेमबहादुर मल्ल सम्मान अर्पण समारोह’मा उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति भएमात्र दिगो शान्ति, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने बताए ।
राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको बताए ।
उनले भने, ‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सधैं क्रियाशील रहोस् ।’
यस्तै, उनले पूर्वप्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, सीपयुक्त हातहरूका माध्यमबाट मुलुकको र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘तपाईँहरूमाथि राज्यले ठूलो लगानी गरेको छ । जसको कारण तपाईंहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्यप्रणाली सञ्चालनका नवीनतम आयामहरूको बोध छ । यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँंछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भै काम गर्न म अपिल गर्दछु ।’
यसको साथै, उनले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने नेपाल जन–प्रशासन संघले महत्वपूर्ण काम गरेको भन्दै खुशी पनि व्यक्त गरेका छन् ।
सोही समारोहमा यस वर्षको हेमबाहदुर मल्ल सम्मान कुटनीतिज्ञ र प्रशासनविद् डा. भेषबहादुर थापालाई अर्पण गरिएको हो ।