
स्पेनले अहिले हरेक स्तरको फुटबलमा दबदबा कायम गरेको छ । स्पेनको पुरुष टिमले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । महिला टिमले गत वर्ष विश्व कपको उपाधि जितेको थियो । युरोपियन क्लब फुटबलमा पनि स्पेनकै टोलीले दुई ठूलो उपाधि जितेका छन् । रियलले मड्रिडले पुरुषतर्फ च्याम्पियन्स लिग र बार्सिलोनाले महिलातर्फको च्याम्पियन्स लिग जितेका थिए । पेरिस ओलम्पिकको फुटबलमा फाइनल पुगेको स्पेनले पुरुष यू–२३ टोलीले ओलम्पिक स्वर्ण पदक जितेको छ । शुक्रबार भएको फाइनलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ ले पराजित गरेको छ । स्पेनको महिला टिम भने सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदै बाहिरिएको छ । स्पेनको फुटबलका लागि यो ठूलो उपलब्धीहरुको सूची हो । र उसको प्रतिस्पर्धी देशहरुका लागि भने यो चिन्ताको विषय बन्न सक्छ । कसरी स्पेन विश्व फुटबलमा हावी बनिरहेको छ त ? बीबीसीले त्यसका केही कारणहरु प्रस्तुत गरेको छ । स्पेनले सन् २०१२ पछि पहिलो पटक युरो कपको उपाधि जित्यो । वास्तविकता हेर्दा यी दुई उपाधिको बीचमा स्पेनको राष्ट्रिय टिम संकटकालीन अवस्थामा थियो । तर स्पेन जब कुनै पनि प्रतियोगिताको अन्तिसम्म पुग्छ त्यसमा उनीहरु शीर्ष स्थानमै पुग्छन् । तथ्याङ्कमा हेर्दा पनि त्यो देखिन्छ ।
विश्वकप, युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग वा यूईएफए कप÷युरोपा लिग सबैमा स्पेनको पुरुष टिम २७ पटक फाइनल पुगेकामा सबै स्पेनकै पक्षमा नतिजा आएको छ । यस्तै महिलातर्फ पछिल्लो दशकयता मात्र व्यवसायिक सुरुवात भएको स्पेनी टिमले पनि सुखद नतिजा दिन थालेको छ । महिला टिमले विश्वकपमा सहभागिता जनाएको तेस्रो पटकमै इंगल्याण्डलाई हराएर विश्वकप जितेको थियो । स्पेनले सन् २०१५ को महिला विश्वकपमा डेब्यु गरेको थियो । स्पेनको महिला टिमले यसै वर्षको सुरुमा यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो । यस्तै बार्सिलोनाले पछिल्लो दुई महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । ‘स्पेनको महिला फुटबलमा भएको परिवर्तन विशेष प्रभावकारी देखिएको छ’, हाल पत्रकार रहेकी पूर्वफुटबलर मारिया गारिडोले बीबीसीसँग भनिन् । १० वर्षअघि उनले बार्सिलोनाबाट खेल्दा महिलाका लागि ला मासिया (बार्सिलोनाको खेलाडी उत्पादन गर्ने एकेडेमी) थिएन ।
(स्राेत– बिबिसी)