
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेता पनि कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत संकलन गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक रहेको भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले बताए । भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व संकलन गरेको थियो ।
चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो ।
गत आवको तुलनामा चालु आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।