सोमबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको घटनाले राजनीतिक वृतमा तरंग ल्याएको छ । गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा नेताहरुले बोल्ने क्रममा नाराबाजी भएको थियो । युवाहरुले नाराबाजी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए । देउवाले आक्रोशित हुँदै कार्यक्रम बिथोल्न खोजेको आरोप मात्र लगाएनन् उनले गौरा खेल्न आएकाहरुको यहि हो संस्कृति भन्दै प्रश्न समेत गरेका थिए । उनले भने- ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु । यही हो तिमीहरुको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरु छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरु पछाडि बसेका छन् ।’
कार्यक्रममा प्रमुख अथितिको रुपमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो छोटो धारणा राखेर बाहिरिएका थिए । ओलीले बोल्दा पनि नाराबाजी भएको थियो । ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई विथोल्ने र भड्काउने प्रयास सफल नहुने टिप्पणी गरेका थिए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा आफुलाई दुःख लागेको बताए । साथै उनले नेपालको मौलिक सम्यतालाई विश्वव्यापी फैलाउनुपर्नेमा जोड दिदै एकताबद्ध भएर शान्तिमय नेपाल बनाउन लाग्न आग्रह गरेका थिए ।
पछिल्लो समयमा देशमा राजनीतिक रुपमा निराशा बढिरहेकोले सोमबारको टुँडिखेलको घटनालाई सांकेतिक रुपमा बुझ्नुपर्ने विश्लेषण हुन लागेको छ । आम जनतामा बढेको निराशा, देशमा हरेक क्षेत्रमा बढिरहेको भ्रष्टाचार, बढ्दो बेरोजगारीका बीच राजनीतिक नेतृत्वले आफ्नो कामले जनतामा आशाको सञ्चार गर्न नसकेको अवस्थामा अब सार्बजनिक रुपमा नाराबाजी हुन शुरु भएको छ । अझ देशका ठुला दुई दलका शिर्ष नेताहरुले नै नाराबाजीको सामना गर्नुपर्ने अवस्था आउनुलाई स्वाभाविक रुपमा लिन सकिदैन ।
पहिला श्रीलंका र त्यसपछि बंगलादेशमा आम जनताले निर्वाचित सरकारलाई आन्दोलनबाट देशबाटै भाग्नु पर्ने अवस्था ल्याइदिए । कतिपय युवाहरु नेपालमा पनि राजनीतिक नेतृत्व असफल भएकोले श्रीलंका र बंगलादेश जस्तो आन्दोलन गर्नुपर्ने बताउन थालेका छन् । यो घटना राजनीतिक नेतृत्वका लागि चेतावनीको जनाउनु घन्टीको रुपमा बुझिनुपर्ने चर्चा सामाजिक सञ्जाल र मिडियामा भइरहेको छ ।