
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए ।
प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको कुँवरको भनाइ छ । ‘तपाईंहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’, उनले भने । महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए ।