प्रचण्ड भन्छन् – सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद छ
वि.सं.२०८१ भदौ २० बिहीवार ०७:४८
shares

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद रहेको भन्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन् ।
शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकरुपताका साथ सबै सहिदहरुलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘सहिदहरुलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रुपमै समाधान गर्न आवश्यक रहेको छ । आउने केन्द्रीय समितिको बैठकमा सहिदहरुलाई सम्मान गर्नेबारे एकरुपताका साथ सबै सहिदहरुलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु । सहिदहरुका बारेमा विभेद गर्नु हुँदैन भनेर जनयुद्धका बेला मारिनुभएकाहरुका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै सहिदहरुलाई एकमुस्ट रुपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुन्छ ।’
पार्टीले जनयुद्धमा मारिनुभएका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भएपनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ ।













