मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
वि.सं.२०८१ असोज ३ बिहीवार ०५:३४
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
नेकपा ९माओवादी केन्द्र० ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ ।
कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन् ।
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।













