आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाललाई कुवेतलाई जितको लागि एक सय ३१ रनको लक्ष्य दिएको छ ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय तीस रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् ।
साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका समेत प्रहार गरिन् । यस्तै, ज्योत्स्निका मरासिनीले १८ बलमा एक चौकाको मद्धतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान ६/६ रन बनाए भने सीमा केसीले ४ रन बनाइन् ।
त्यस्तै, नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचना कुमारी चौधरी र रिया शर्माले एक रन पनि जोड्न सकेनन् ।
नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको हो ।
कुवेतको लागि आयशा इकबाल पेवेकरले २ विकेट लिइन् । यस्तै, जिफा जिलानी र अमिषा राम ओलाचेरीले समान एक/एक विकेट लिए ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।