आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटका खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन स्टेडियममा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुवेतलाई जितको लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।
कुवेतको लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा २ चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आयशा इकबाल पेवेकरले ३ बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा ४ रनको बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक/एक रन बनाए ।
क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहन सिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शुन्य रनमै आउट भए ।
नेपालको लागि रचना कुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिए । त्यस्तै, कप्तान पुजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक/एक विकेट लिए ।
कुवेतले अतिरिक्त दुई रन पायो ।