रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन्

  • माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन् ।

    पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

    उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन् । १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

    उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन् ।

    विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन् ।

    ‘हामीलाई पनि राज्यले हेरोस् भन्ने लाग्छ । हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं । दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन । यही दुखेसो छ,’ उनले भनिन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation