कर्मचारी युनियन खोल्ने अधिकारमाथि प्रश्न

832
shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरूसँग छलफल भएको छ ।

सोमबार समितिमा बसेको बैठकमा उक्त विषयमा छलफल भएको हो । सोही क्रममा सांसद ज्ञानेन्द्र शाहीले कर्मचारी युनियन खोल्ने जुन अधिकार प्राप्त भयो त्यसले नेपालको निजामती सेवा मात्र होइन सबै कुरालाई अप्ठ्यारो पारेको बताएका छन् ।

उनले भने, ‘काम नै नगर्ने, डुलेर खाने, यो पार्टीको त्यो पार्टीको भनेर कर्मचारी युनियनमा भाग लिने, भाग लिइसकेपछि नेता बन्ने त्यसपछि सामान्य प्रशासन मन्त्रालयमा जाने, सबैको अड्डा त्यही हुन्छ । कसलाई कहाँ बढुवा गर्ने, सरुवा गर्ने भनेर खेल सुरु हुन्छ । बिचरा मन्त्रीहरूलाई पनि दबाब दिइन्छ । यस्तो गरेर कर्मचारी युनियन खोल्ने जुन अधिकार प्राप्त भयो त्यसले नेपालको निजामती सेवा मात्र होइन सबै कुरालाई अप्ठ्यारो पारेको छ । कर्मचारी युनियन सरकारी स्तरमा पूरै बन्द गरौँ ।’

यस्तै, उनले सरकारी कर्मचारीहरूले युनियन खडा गरेर नेपाल सरकारको सेवालाई पार्टीको अखडा बनाउने परम्परा बनेको भन्दै यो बन्द हुनुपर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रको कर्मचारी युनियनमा साहु हुन्छ तर सरकारी कर्मचारी आफैँ मालिक यहाँ साहु भन्ने कोही पनि हुदैँन् । अनि सरकारी कर्मचारीहरूले युनियन खडा गरेर नेपाल सरकारको सेवालाई पार्टीको अखडा बनाउने जुन एउटा परम्परा बनेको छ । यसले सेवा सुविधा मात्र होइन, भोली आउने भयानक अवस्था सिर्जना गरेको छ ।’