धादिङको अमिलटारमा स्वास्थ्य शिविर, ‘रोग पालेर बस्न विवश छन् दुर्गमका नागरिक’

1.69K
shares

‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ धादिङको गजुरीमा सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गजुरी गाउँपालिका वडा नम्बर २ को कार्यालयले काठमाडौंको मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिगङ्गा मेडिकल सेन्टरसँग समन्वय गरी शनिबार अमलटारस्थित स्वास्थ्यचौकीमा एकदिने शिविर चलाएको हो ।

सामान्य स्वास्थ्य जाँचदेखि हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, बाल रोगलगायतमा उपचार तथा परामर्श गरिएको वडा अध्यक्ष द्रोण कँडेलले जानकारी दिए । शिविरबाट बालबालिका, ज्येष्ठ नागरिकलगायत सबै उमेर समूहका गरी करिब ३ सय नागरिकले सेवा लिएका उनले बताए । शिविरमा गजुरीको छिमेकी बेनीघाटबाट पनि ।जनप्रतिनिधि र बिरामी सेवा लिन पुगेका थिए ।

शिविरमा निशुल्क औषधिसमेत वितरण गरिएको स्वास्थ्य बिमा बोर्डका प्रतिनिधित्व गरेका डा। राम थापा क्षेत्रीले जानकारी दिए । शिविरको अगुवासमेत रहेका उनले भिडियो एक्सरेदेखि पाठेघरको मुखको स्कृनिङ गर्ने मेसिनबाट पनि सेवा प्रदान गरिएको बताए ।

‘शिविरमा दुई घण्टा हिँडेर सेवा लिन आउनुभएकाहरू हुनुहुन्थ्यो, कतिले त वर्षौंदेखि रोग पालेर बस्नुभएको रहेछ’, उनले भने, ‘निःशुल्क पाइने स्वास्थ्य सेवा थाहा नपाएर उपभोग गर्न सक्नुभएको रहेन छ ।
शिविरबाट हामीले यीमध्ये धेरै समस्या हल गर्यौं ।’

शिविरमा नसकिने बिरामीलाई विभिन्न सम्बन्धित अस्पताल जान सुझाएको उनले बताए ।

सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन पालिका पदाधिकारीलाई उनले आग्रह पनि गरे । मनमोहन मेमोरियल मेडिकल कलेजका व्यवस्थापक सन्जीब कँडेलले आगामी दिनमा धादिङ जिल्लाका अन्य दुर्गम क्षेत्रमा पनि शिविर लगिने बताए । स्वयम्भूस्थित मनमोहन मेमोरियलबाट १० जना चिकित्सकले उपचार तथा परमर्श सेवा प्रदान गरेका थिए ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिविरमा उपचार हुन नसकेका नागरिकलाई जिल्ला अस्पताल वा काठमाडौंमा उपचार गराउन जनही ५ हजार सहयोग गर्नुका साथै अस्पताल पुर्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए । गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले पालिकाका अन्य क्षेत्रमा पनि शिविरका लागि आव्हान गरिन् ।

शिविरका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित लायन्स क्लब अफ काठमाडौं ग्लोबल सोसाइटी, धादिङ अस्पताल, बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन नेपाल, लायन्स क्लव अफ धादिङ भैरवी, लायन्स क्लब अफ धादिङ भैरवीशितल, छहारी नेपाल र प्रयास नेपाल धादिङले समन्वय तथा सहकार्य गरेका थिए ।