टोपी दिवस : चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत

नेपालीहरूले मात्र नभई विदेशीहरूले पनि खोज्छन् ढाका टोपी

1.39K
shares

काठमाडौं । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अङ्ग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् ।

तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरूले चाडपर्व, विवाह, व्रतबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरूको अनुभव छ ।

असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवसलाई नै भनेर मानिसहरू टोपी किन्न नआउने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘म यो पसलको पाँचौँ पुस्ता हुँ । सय वर्ष नै भइसक्यो यहाँ टोपी बेच्न लागेको । ढाका टोपीको माग पहिला भन्दा त धेरै नै घटेको हो । तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरूको लागि माग हुने गरेको छ । अलिक उमेर ढल्केकाहरूले कहिलेकाहीँ खोज्नुहुन्छ । युवाहरूले त सोध्नु नि हुँदैन,’ उनी भन्छन्, ‘टोपी दिवसकै लागि भनेर आउनेहरू चाहिँ एकदमै कम हुनुहुन्छ ।’

रोल्पाका मनोजमणि आचार्य नेपालीहरूको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन् । ‘नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरूले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ । पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ । यसको मौलिकता छ । युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ । तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ’, उनले भने ।

वि.स.२०७० सालदेखि नेपालीहरूमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बुढा टोपी दिवस मनाउनुपर्ने बताउँछन् । उनी भन्छन्,‘ढाका टोपी दिवस मनाउनुपर्छ । यो हाम्रो पहिचान पनि हो । दौरा, सुरुवाल, टोपी त नेपालीहरूको पोसाक नै हो नि ।’

असनमा नै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नेपालीहरू र नेपाल घुम्न आएका विदेशीहरूले टोपी खोज्ने गरेको बताउँछिन् । ‘नेपालीहरूले मात्र नभई फरेनरहरुले पनि टोपी खोज्नु हुन्छ । पहिला नेपालीहरूले मात्रै टोपी लगाउने भन्ने थियो तर अहिले फरेनरहरुले धेरै नै खोज्नुहुन्छ,’उनी भन्छिन्,‘पहिला एक लाख जति व्यापार हुने गरेकोमा अहिले चार पाँच लाखसम्मको व्यापार हुन्छ । टर, ढाका टोपी मात्रैको भने यस्तो व्यापार छैन ।’

बाउ बाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातिलाई सिकाउनका लागि भए पनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन् । उनले भने, ‘नेपाली पहिचानको लागि टोपी लगाइरहन्छु । नेपाली पहिचान झल्काउँछ । बाउ बाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो । यो त हाम्रो छोरा नातिलाई शुद्ध सिकाउनपर्छ ।’ – नेपाल न्युज बैंक