पूर्व प्रहरी प्रमुख खनालद्वारा एमाले छाडेको घोषणा
वि.सं.२०८१ पुस २१ आइतवार ०९:४२
shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक एवम् नेकपा (एमाले)का नेता सर्वेन्द्र खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान एक स्ट्याटस राख्दै पूर्व आइजिपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
आफ्ना आफन्त एवम् शुभचिन्तकहरू आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्ट्याटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”
खनालले आफू राष्ट्रघाती दोषीहरूलाई कानुनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान् बनाउन आफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्, “म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।”
पूर्व आइजिपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार बनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।











