
काठमाडौं । नेपाल महिला टी-२०आई श्रृंखलामा तेस्रो हार ब्यहोर्न बाध्य भएको छ ।
अन्तिमसम्म सम्हालिएर खेल्न नसक्दा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४१, हिथर सिगर्सले २६ रन बनाइन् ।
नेपालका लागि सीता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् ।