काण्डहरुको अर्काे नाम नेपाल, ठूला काण्डमा कुन दल अगाडि ? कांग्रेस, एमालेलाई पछ्याउदै माओबादी !
वि.सं.२०८२ साउन ४ आइतवार ११:१२
shares

काठमाडौं । वास्तवमा विदेशी मुलुकहरूमा चुनाव भनेको को जनताको पक्षमा बढी खटिन्छ भन्ने होड़ हो, को देशको सेवा गर्ने योजनामा बढी गम्भीर छ भन्ने मूल्याङ्कन हो। तर नेपालमा यो सम्पूर्ण प्रणाली नै उल्टो दिशामा छ। यहाँ दलहरूबीच अब कुनै विचार, नीति वा देशसेवा होइन — ‘को बढी भ्रष्ट, को बढी लुटेरा’ बन्न सक्छ भन्ने प्रतिस्पर्धा चलेको छ।
पछिल्ला डेढ दशकको नेपालको राजनीतिक यात्रा नियाल्ने हो भने, यो देशलाई सत्तामा पुगेपछि लूट्न पाइने गाईजात्रा बनाइएको छ। दलहरूले सत्ता कब्जा गर्नलाई गठबन्धन गर्छन्, कुर्सी बाँडफाँट गर्छन्, अनि सुरु हुन्छ “अब हाम्रो पालो“ भन्ने खुला ताण्डव। कांग्रेस, एमाले, माओवादी—यी तीन ठूला भनिने दलहरू अहिले ‘कुन पार्टीको मन्त्रिले बढी घूस खायो’, ‘कसले कति ठेक्का हडप्यो’, र ‘कसले न्यायपालिकादेखि अख्तियारसम्म कब्जा ग¥यो’ भन्ने प्रतिस्पर्धामा होमिएका छन्।
राजनीतिक दलहरूको घोषणापत्र अब जनताको सपना होइन, ठगी र भागबण्डाको योजना बन्न थालेको छ। संसदीय मर्यादा, कानुनी हैसियत, नैतिकता—सबै दलहरूको निजी स्वार्थअगाडि घुँडा टेकिसकेका छन्। दलहरूका शीर्ष नेताहरू ’लोकतन्त्र’ भन्ने शब्दको आडमा दलाल, माफिया र भ्रष्ट्राचारको संरक्षक बनेर बसिरहेका छन्।
विदेशमा राजनीतिक पार्टीहरुको होड को बढी देशभक्त हुने र जनपक्षीय हुने भन्नेमा केन्द्रीत हुने गर्दछ । तर, नेपालमा भने को बढी भ्रष्ट हुने भन्ने होड़ दलहरुमा छ । पछिल्ला डेढ दशक यता मुलुकमा एकछत्र लूट मच्चाउँदै आएका तीन ठूलाका काण्डमहरुबारे आजको भिडियोमा चर्चा गर्ने छौ ।
कुन काण्डमा कुन दलको संलग्नता
पछिल्ला १५ वर्षको आँकडा हेर्दा नेपाली कांग्रेस र एमालेबीच ठूला काण्डमा पनि राजनीतिमा जस्तै प्रतिष्पर्धा देखिन्छ । अलिक पहिले अर्थात २०४६ साल पछिका काण्ड हेर्ने हो भने कांग्रेस नै भ्रष्टपथ भएको देखिन्छ ।
माओवादीको अवस्था पछि आएको तर जसरी आएको उसैगरी खाएको जस्तो देखिन्छ । अर्थात माओवादीहरु धेरै काण्डमा संलग्न नभए पनि एकाध काण्ड नै अरु बराबर पुग्ने खालका छन् ।
भुटानी शरणार्थी काण्ड
भुटानी शरणार्थी काण्डले नेपाली राजनीतिमा ठूलै भूचाल ल्यायो। यो काण्डमा साना ठग मात्र होइन, देशका उच्च पदमा बसेका नेता र मन्त्रीहरू संलग्न देखिए। केही नेता पक्राउ परे, केही अझै राजनीतिक संरक्षणमा खुलेआम हिँडिरहेका छन्। यो काण्डमा मुछिएका हाइप्रोफाइल ब्यक्तिहरु,,
१. टोपबहादुर रायमाझी, पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन ऊर्जा मन्त्री (नेकपा एमाले) आफ्नै छोरामार्फत नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको देखिएपछि उनी अहिले पूर्पक्षका लागी थुनामा छन् ।
२. बालकृष्ण खाँण, पूर्वगृहमन्त्री (नेपाली कांग्रेस)
खाँणमाथी गृहमन्त्रालयमा बसेर सिफारिस प्रक्रिया मिलाएको आरोप लागेको छ । पूर्वसचिव र सचिवालय सदस्यमार्फत ठगीमा संलग्नता देखिएपछि थुनामा परेपनि अलिहे थुनाबाहिर रहेकका प्रमुख नेता ।
३. टीकाराम रिजाल पूर्वगृह सचिव
सरकारी सिफारिस पत्रमा हस्ताक्षर गरेर प्रक्रिया मिलाउने मुख्य व्यक्ति। आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर “शरणार्थी सिफारिस समिति“ को नेतृत्व गरेका थिए । यसका साथै तत्कालिन उपप्रधानमन्त्री एवं स्वर्गीय गणेशमान सिंहका परिवार जोडिएको बालसंगठनको जग्गा दुरुपयोग काण्ड, विनोद चौधरीको बाँसबारी काण्ड, तत्कालिन संचारमन्त्रीद्वय मोहन बस्नेत जोडिएको टेरामक्स काण्ड ठूला भ्रष्टाचारका काण्ड हुन् ।
कांग्रेस सभापति पत्नी आरजु नै जोडिएको टीकापुर जग्गा काण्ड, उर्जामन्त्री दीपक खड्का जोडिएको स्काउट जग्गा काण्ड, विजय गच्छदार जोडिएको ललिता निवास जग्गा काण्ड, सुजाता कोइराला जोडिएको लाउडा काण्ड, कांग्रेसीहरु नै जोडिएको जोडिएको मेलम्ची काण्ड भ्रष्टाचारका ठुला काण्डहरु हुन् । यसरी हेर्दा कांग्रेसीहरुले अर्ब बढी घोटाला गरेका काण्ड मात्रै डेढ दर्जन बढी रहेको देखिन्छ ।
अव कुरा गरौं एमालेका नेताहरुले मच्चाएका ठुला काण्डहरु बारे
एमालेहरु जोडिएको सवैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो, गिरिबन्धु जग्गा काण्ड । जसमा एमालेका धेरै नेता जोडिएका छन् । “यो काण्ड कुनै साधारण भूमिकाण्ड होइन — यो राज्यसत्ता, जग्गा माफिया र दलका नेताहरूको गठबन्धनद्वारा गरिएको संगठित लुट हो। नाम भने ’गिरिबन्धु’ — तर काम चाहिँ गिरोहजस्तै!“ यो काण्डमा एमालेका पूर्व सांसद अम्बिका बस्नेत, पूर्वमुख्यमन्त्री भीम आचार्य, घनश्याम दाहाल लगाएतको प्रत्येक्ष संलग्नता देखिन्छ ।
बर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग जोडिएको ललिता निवास अर्थात बालुवाटारको जग्गा प्रकरण, योगेश भट्टराई जोडिएको बतास काण्ड र पाथीभरा केवलकार जग्गा काण्ड, ईश्वर पोखरेल जोडिएको ओम्नी काण्ड, गोकुल बास्कोटा जोडिएको ७० करोड काण्ड, प्रधानमन्त्री ओली नै जोडिएको नेपाल ट्रष्टको जग्गा काण्ड, गोकुल बास्कोटा नै जोडिएको फोर जी काण्ड एमालेहरु जोडिएका पछिल्ला ठुला भ्रष्टाचारका काण्ड हुन्।
अलिक पहिलेका काण्डहरुमा जाने हो भने ईश्वर पोखरेलेको ट्यांकी काण्ड, चेज एअर, काण्ड चिनी र मेल काण्डमा पनि एमालेहरु ले नै मच्चाएका काण्डहरु हुन् ।
माओवादीका नेताहरुले मच्चाएका ठुला काण्डहरु
‘हामी त सिद्धान्तका लागि लड्ने, जनता र क्रान्तिका लागि मरिमेट्ने हौं!’ भनेर गगनभेदी भाषण गर्नेहरू… सत्ता पाएपछि कमिशनको मारमा, सचिवालयमा दलालको बार्गेनिङमा, र मन्त्रालयमा पैसाको ब्रिफकेस गनिरहेका भेटिन्छन् ।“
माओवादी क्रान्तिका नाममा हजारौं युवाहरूको बलिदान, सपना र संघर्ष बेचेर स्थापित माओवादीमा पठेक्काको सेटिङ गर्ने, नियुक्तिमा लेनदेन अनि मन्त्रिपरिषदको ढोकामा दलाललाई स्वागत गर्ने गरेको पाइन्छ । के यही हो जनयुद्धको अन्तिम गन्तव्य?
माओवादीहरु ढिलो सत्ता राजनीतिमा आएकाले उनीहरु यस्ता धेरै काण्डमा संलग्न भईसकेका छैनन् । तर अवसर पाए औंला दिदाँ हात नै निल्न पछि नपर्ने स्वभाव माओवादीको पनि छ । लड़ाकु शिविर काण्ड एक्लैमा अर्बौं रुपैयाको घोटाला भएकाले उनीहरुको लुटको साइज पनि कम भने छैन्। हुन त युद्धकालमै धेरै बैंक लुटेर आएकाहरुले नगद र सुन कति लुटे भन्ने कुनै हिसाब नै छैन भन्दा फरक पर्दैन ।
कृष्णबहादुर महरा माओवादी केन्द्रका उपाध्यक्ष जोडिएको सहकारी घोटाला काण्ड, तत्कालीन पर्यटन मन्त्री जनार्दन शर्माको वाइडबडी विमान खरिद घोटाला काण्ड, वर्षमान पुन, जनार्दन शर्मा जोडिएको कर फिर्ता काण्ड, गृहमन्त्री रहेका बेला तत्कालिन माओवादी तथा हाल एमाले नेता रहेका रामबहादुर थापा “बादल“ मुछिएको सशस्त्र प्रहरी बल भर्ना र पोशाक काण्ड माओवादी नेताहरुले सत्तामा रहेका बेला मच्चाएका चर्चित काण्डहरु हुन् । चीनतर्फबाट हुने सुन तस्करीमा माओवादीको माथिल्लो तहको नेतृत्व सामेल हुने गरेको आरोप लाग्दै आएको छ ।
भ्रष्टाचारले देश खाँदै छ, जनताहरु हेरेको हर्यै छन् । नेपालमा भ्रष्टाचार अब एक घटना होइन, संविधानबाहिरको समानान्तर सत्ता बनिसकेको छ। सिंहदरबारको भित्ताभन्दा अगाडि जनताको सरकार हुन्छ, र भित्ताभित्र — दलालहरूको।
न अस्पतालमा औषधि छ, न विद्यालयमा शिक्षक तर मन्त्रीको बंगला र सल्लाहकारको गाडीचाहिँ हरेक साल फेरिन्छन् । राम्रो शासनको आशामा हरेक चुनावमा जनता लाइनमा बस्छन्, सपना मतपेटी भित्र छिर्छ नतिजामा फर्कन्छ धोका ।
भ्रष्टाचारले बनाएको यो सिण्डिकेट अब जति टिके पनि सधैं टिक्दैवाला छैन् । कहिल्यै नसोचेको दिनमा, कहिल्यै नचिनिएको ठाउँबाट, फेरि एक क्रान्तिको हुंकार अवश्य उठ्ने छ ।











