घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता, कास्कीमा बाढी र पहिरोले २ घरमा क्षति, एक वर्षमा ६३ पटक दाउन्ने खण्ड अवरुद्ध ।।

1.77K
shares

पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् ।
वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पु¥याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
यता शनिबार रातिदेखिको अबिरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा घर बगाएको छ । पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ । ३ कोठा पूर्ण रूपमा पुरिँदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, पोखरा १३ काहुँखोला नहरको बहाव बढ्दा दिपा लामाको एकतले घरको २ कोठा बगाएको कास्की प्रहरीले जनाएको छ । घरका धनीहरू पहिले नै भागेका कारण मानवीय क्षति हुन नपाएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
कास्कीका सबै नदी र खोलाको बहाव बढेको छ । यात्रा गर्दा सचेत रहन प्रहरीको सुझाव छ ।
यता बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा ६३ पटक यो सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए
दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा दर्जनौँपटक सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको थियो ।
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो ।
नारायणगढ–बुटवल सडकखण्डको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।