बागमती कांग्रेस संसदीय दलको नेतृत्वमा पुराना अनुहार, तर नयाँ समीकरण
वि.सं.२०८२ साउन १४ बुधवार १४:२७
shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ ।
बुधबार बिहानदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन कार्यक्रम अन्तर्गत बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो ।
संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाबिच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ ।
लामा र बानियाबिचको प्रतिस्पर्धा नयाँ होइन । दुवै नेताले यसअघि पनि आपसमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटका दुवै जना आपसमा दोस्रो पटक दलको नेता बन्ने होडसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि गत २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा दुवै नेताले प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला कांग्रेसभित्रको गुट स्पष्ट नदेखिए पनि शीर्ष नेताको समर्थन भने केन्द्रीय सदस्यसमेत रहेका लामालाई थियो । पछिल्लो समय लामाको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका शीर्ष नेताहरू बानियाँ पक्षमा खुलेर देखिएका छन् ।
२०७९ को संसदीय दलको निर्वाचनमा लामालाई सभापति देउवासहित आरजु देउवा राणा, सहममन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रवक्ता प्रकाशशरण महत, नेता शेखर कोइराला, प्रकाशमान सिंह लगायतको समर्थन थियो ।
तत्कालीन समयमा महामन्त्री गगनकुमार थापाको समर्थन पाएका बानियाँले १६ मत प्राप्त गरेका थिए भने अन्य शीर्ष नेताको साथ पाएका लामाले २१ मतका साथ संसदीय दलको नेताको चुनाव जितेका थिए ।
हाल संसदीय दलको नेतामा पुरानै नेताहरूको प्रतिस्पर्धा देखिए पनि समीकरण नयाँ देखिएको छ । लामा पक्षमा रहेका शीर्ष नेताहरू हाल बानियाँ पक्षमा खुलेका छन् । त्यसैले अविश्वास प्रस्तावको पक्षमा आएको मत बराबर नै बानियाले संसदीय दलको नेतामा प्राप्त गर्ने आकलन गरिएको छ ।
सरकारको कार्यशैली, बजेट विनियोजनमाथिको विवादले कांग्रेसको छविमाथि नै प्रश्न चिह्न खडा गरेको भन्दै मुख्यमन्त्री लामामाथि गत शुक्रबार नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको थियो । २१ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावमा २२ सांसदले समर्थन गर्दै पारित गरेका थिए ।













