पार्टी छाड्दिनँ, आफ्ना कुरा पार्टीमै राख्छु : जनार्दन शर्माको भनाइ सार्वजनिक

1.64K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् ।

आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उनका अनुसार, आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राखेका थिए ।

सो क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।

‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाईका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’

शर्माले खुला रुपमा पार्टीका समस्याबारे भनाइ राखेको पुनले बताए ।

उनका अनुसार, स्थायी समिति बैठक भोलि सकिनेछ । वरिष्ठ उपाध्यक्ष र महासचिवले आफ्ना कुरा राखिसकेपछि प्रचण्डले भोलि जवाफ दिने उनले जानकारी दिए ।

केन्द्रीय समिति बैठक बस्नेबारे कुनै मतभेद नभएको उनले बताए । दशैंपछि पहाडी लोकमार्ग अभियान पूरा गर्ने र केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी गराए ।

बैठकमा खुला र स्पष्ट रुपमा छलफल भएको उनको भनाइ थियो ।