कैदीबन्दीको सङ्ख्याको आधारमा कारागारको व्यवस्था गर्न माग

1.6K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद गोपीबहादुर सार्की अछामीले कैदीबन्दीको सङ्ख्याको आधारमा कारागारको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, “देशैभर ७२ जिल्लामा ७५ वटा कारागार रहेका छन् । बन्दीको सङ्ख्याअनुसार कारागार कम छ, यसको सरकारले व्यवस्थापन गर्नुपर्छ ।”

उनका अनुसार देशैभरका २२ वटा कारागारको अवस्था सामान्य रहेपनि, अन्यमा कारागारमा भने कम्पाउन, खानेपानीको धारा र शौचालयजस्ता समस्या रहेका छन । उनले भने, “कारागार एउटा समस्याको रूपमा छन्, बन्दीगृह वा कारागार सुधारगृहको रूपमा हुनुपर्ने र यातनागृहको रूपमा रूपमा रहेको छ, विशेषगरी कैदीबन्दीको जुन सङ्ख्याको चाप छ, त्यसअनुसारको कारागारको व्यवस्था हुन सकेको छैन ।”

सांसद अछामीले ३३ वटा कारागारको पर्खाल भत्किएको अवस्थामा रहेको, २८ वटा कारागारको आफ्नै भए पनि अत्यन्त जीर्ण अवस्थामा रहेको र पाँच वटा कारागारको आफ्नै जग्गामा भए पनि भवन जीर्ण अवस्थामा रहेको तथ्य प्रस्तुत गरे । उनले १० वटा कारागार भौतिक रूपमा अत्यन्त जीर्ण अवस्थामा रहेको पनि बताए ।