डान्स बारमा युवती उचाल्ने मन्त्रीका स्वकीय सचिव पदमुक्त
वि.सं.२०८२ साउन २७ मंगलवार १९:१४
shares

काठमाडौँ । डान्स बारमा मदिराले मातेर युवतीलाई जुरुक्कै उचालेको भिडियो भाइरल भएपछि उद्योगमन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीको पद चैट भएको छ ।
मन्त्रालयले भण्डारीलाई साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराएको छ ।
मन्त्रीको सचिवालयमा रहँदा भण्डारीको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्री भण्डारीको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, ‘माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ ।’
उद्योग मन्त्रालयका उपसचिव सुमन धितालको हस्ताक्षरमा जारी गरिएको सो पत्रमा अवगतार्थ प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।
सार्वजनिक भिडियोमा भण्डारीले नीलो पोशाक लगाएकी एक युवतीलाई जुरुक्कै उचालेको देखिन्छ । भण्डारी ती युवतीसँग पहिल्यै परिचित थिए वा नाइट क्लब पुगेपछि मात्र परिचित भएका हुन्, त्यो भने खुलेको छैन ।सार्वजनिक आलोचनाले उग्र रूप लिएपछि मन्त्री दामोदर भण्डारी आफ्नो सचिवालयका सदस्यलाई कारबाही गर्न बाध्य भएका हुन्।
मन्त्रालयका उपसचिव एवं मन्त्रीका निजी सचिव सुमन धितालद्वारा हस्ताक्षरित पत्रमा लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको स्पष्ट उल्लेख छ।
माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईँलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ,“ पत्रमा भनिएको छ।
यो कारबाहीको जानकारी प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ, जसले यो विषयलाई सरकारले गम्भीर रूपमा लिएको देखाउँछ।
पहिलेदेखि नै विभिन्न कारणले आलोचित मन्त्री भण्डारीलाई आफ्नो सचिवालयका सदस्यको यस्तो हर्कतले थप नैतिक र राजनीतिक दबाब सिर्जना गरेको थियो।
स्वकीय सचिवको यस्तो अमर्यादित क्रियाकलापले मन्त्रीको छनोट र उनको सचिवालयको समग्र कार्यशैलीमाथि नै गम्भीर प्रश्न खडा गरेको विश्लेषण गरिएको छ।
यो घटनाले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका निकट सहयोगीहरूको व्यक्तिगत आचरणसमेत सार्वजनिक निगरानीमा रहने र पदीय मर्यादाविपरीतका कुनै पनि गतिविधिले पद नै गुम्न सक्ने बलियो सन्देश दिएको छ।













