जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता, संघीयता र पहिचानको मुद्दामा सहकार्य

1.44K
shares

काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकताउन्मुख कार्यगत एकता भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुई दलबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको हो ।

एकताउन्मुख कार्यगत एकता सम्बन्धी सहमतिपत्रमा जसपाका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

दुई दलबीच कार्यगत एकताको संरचना तीनै तहको हुने र केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै २१ बुँदे उदेश्य र प्रतिवद्धतामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातिय, बहुलराष्ट्रिय राज्यसुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने उल्लेख छ भने समाजवादी लोकतान्त्रिक राजनैतिक शक्तिको पहलमा समाजको रुपान्तरणको कार्य अघि बढाउने उल्लेख गरिएको छ ।

कार्यगत एकता घोषणासँगै अब संघीयता, सुशासन, लोकतन्त्र, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्न सरकार, संसद् र सडक तीनवटै क्षेत्रमा क्रियाशिल हुने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

उनले जनताले भरोषा गरेका दलहरुले देश बनाउन नसकेकाले यसको जिम्मा पनि उनीहरुले नै लिनुपर्ने बताए ।

अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र र निरंकुशतन्त्र हावी भएको उनले बताए । महत्तोले देशका दुई दल मिलेर शासन चलाउने कामले लोकतन्त्रको रक्षा हुन नसकेको जिकिर गरे ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले ठूला भन्ने दलहरुले नागरिकको पहिचान मास्ने काम गरेकाले पहिचानको रक्षा गर्दै थप उपलव्धी हासिल गर्नेबाटो तर्फ अघि बढ्न सहकार्य गरिएको जानकारी दिए ।

उनले बिभाजन भएका पहिचानबादीहरु एकै ठाँउमा आएर आफ्ना माग मुद्दाहरुलाई स्थापीत गर्नुपर्ने बेला आएको धारणा राखे ।

सहमति पत्रमा दुई दलले न्यूनतम आचारसंहिता पालना गर्न ६ बुँदे आचार संहिता समेत जारी गरेका छन् ।

जसमा दुई दलबिचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णय दुवै दलले पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

कार्यगत एकताको नीति, कार्यक्रम र उद्देश्यविपरीत हुने गरी आफनो गतिविधि नगर्ने तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुबै दल स्वतन्त्र हुने आचारसंहितामा उल्लेख छ । .