निर्देशन अनुसारको काम गरियो, सूचना थाहा भएनः गोकुल बास्कोटा
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:१५
shares

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले पार्टीको निर्देशनअनुसार काम गरेको तर त्यसबारेको विस्तृत सूचना भने आफूलाई थाहा नभएको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा उनले संक्षिप्त तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन्। निर्देशन चाहिँ के थियो? भन्ने पत्रकारको प्रश्नमा बास्कोटाले भने, “निर्देशनअनुसारको काम गरियो, सूचना थाहा भएन।”
उनले आफूलाई सुरुमा दलको कार्यालयमा आउन भनिएको र त्यसपछि प्रमुख सचेतकसँग भेट्न निर्देशन दिइएको बताए। प्रमुख सचेतकज्यूसँग भेट्नु भन्ने थियो, भेटियो। उहाँले ठीक छु भन्नुभयो, निस्कियो, बास्कोटाले भने।
भित्र के कुराकानी भयो भन्ने प्रश्नमा भने उनले रमाइलो पारामा जवाफ फर्काए। के कुरा हुनुरु यस्तै सञ्चो-बिसञ्चो के छ कसो छ भनेर कुरा भयो उनले हाँस्दै भने।
कुनै विशेष छलफल थियो कि भन्ने प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिन चाहेनन् र भेटघाटलाई बैठक नभई सामान्य भेटघाट मात्र भएको बताए।
एमालेले उपसभामुखलाई हटाउन सांसदसँग हस्ताक्षर चलाएको भनिएको बेला बास्कोटाले यस्तो बताएका हुन् ।













