सडकमा हिडेको पनि पैसा तिर्नुपर्ने, देशभरि सडक दस्तुर

1.65K
shares

लामो समय रोकिएको सडक प्रयोग दस्तुर (टोल ट्याक्स) अब फेरि देशभरि उठाउन सरकारले गृहकार्य थालेको छ। सडक बोर्डले पश्चिम नेपालबाट सुरुआत गर्ने र यस महिनाको अन्त्यदेखि नै दस्तुर असुली थाल्ने तयारी गरेको हो।
बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार भैरहवा–भूमही सडकमार्गबाट दस्तुर उठाउने प्रक्रिया सुरु हुँदैछ। कोभिड महामारीअघि लागू गरिएको दरलाई अब २०–२५ प्रतिशत बढाएर असुल्ने योजना बोर्डको छ। मोटरसाइकल भने दस्तुरबाट छुट हुने बताइएको छ।

व्यवसायीको भाडा बढाउने चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक प्रयोग दस्तुर बढाएपछि आफूहरूले सिधै यात्रु भाडा वृद्धि गर्ने चेतावनी दिएको छ । यसरी सरकारले हरेक सवारी साधनमाथि दस्तुर थोपरेपछि यातायात क्षेत्रमै भाडा विस्फोट हुने पक्का देखिन्छ।
पहिला नारायणगढ–मुग्लिन सडकमा भारी सवारीसाधनले ५५ रुपैयाँ र हलुका सवारीसाधनले २५ रुपैयाँ तिर्नुपथ्र्यो। अब त्यही दरलाई २०–२५ प्रतिशत बढाउने बोर्डको क्याल्कुलेसन छ। तर, सरकारले अझै नयाँ दर सार्वजनिक गरेको छैन। “बढाउँछौं तर कति भन्ने खुलाउन सक्दैनौं” भन्ने शैलीमै अहिले पनि काम अघि बढाइएको छ।
यसपटक दस्तुर उठाउने काम पारदर्शी बनाउन भन्दै सरकारले इम्बोस्ड नम्बर प्लेट र आरएफआईडी प्रणाली प्रयोग गर्ने तयारी गरेको छ। थानकोट र नागार्जुनमा गेट जडान भइसकेको छ भने, कोशीको इटहरी, मधेशको पथलैया, लुम्बिनीको बुटवल, गण्डकीको पोखरा, कर्णालीको सुर्खेतलगायत स्थानमा गेट राखिनेछ।

२२ सडकमा हिड्दा पैसा तिर्नुपर्ने

वि.सं. २०७६–७७ मा सरकारकै राजपत्रमा प्रकाशित सूचनाअनुसार १५ वटा सडकमा दस्तुर उठाउने निर्णय भएको थियो। अब नयाँ थप सात सडक (मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गढ्ढाचौकी, धुलिखेल–तातोपानी, काठमाण्डौ–तराई फास्ट ट्र्याक) पनि थपिएका छन्। यसरी देशभर २२ वटा सडकमा सवारीसाधनबाट पैसा असुल्ने निर्णय भइसकेको छ।
कोभिड महामारीका कारण स्थगित गरिएको दस्तुर पुनः लागू हुँदै गर्दा जनतामाथि नयाँ आर्थिक बोझ थपिएको छ। ईन्धन मूल्य, कर, भाडा सबै चुलिँदो अवस्थामा सडक दस्तुर थपिँदा यात्रु र व्यवसायी दुबैलाई कष्ट पर्ने निश्चित छ।