बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै मन्थली-खुर्कोट सडक अवरुद्ध

दुर्घटनामा १२ जनाको मृत्यु भएपछि स्थानीय प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।

689
shares

रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । १२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयहरूले काठमाडौँबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई  खिम्तीमै रोकेका हुन् ।

स्थानीयहरूले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतका माग राखेका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।