काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी सोचिरहेको बताएका छन् । तर बजेटमा उल्लेख बिजुलीमा लगाइने भ्याटबाट पछि नहट्ने उनले बताए ।
पोष्ट बजेट सम्बन्धी छलफलमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘भ्याट लाग्छ–लाग्छ रिट्रिट हुँदैन तर उपभोक्तालाई मान नपर्ने गरी हामी सोच्दैछौं ।’ त्यसका लागि महसुल छुट दिने विषयमा विद्युत महसुल आयोगलाई पनि अनुरोध गर्ने उनले बताए ।
उनले भने, ‘…अन्तिम उपभोक्तालाई मार नपर्ने गरेर कि हामी युनिट बढाइदिन्छौं वा त्यो मूल्यलाई नै समायोजन गरेर..।’
उत्तरदायी सरकारले यसैगरी सोच्ने भन्दै उनले अतिरञ्जना नगर्न आग्रह गरे । कसैले गर्न नसकेको आँट वर्तमान सरकारले गरेको बताउँदै उनले भने, ‘यो देशको दीर्घकालीन हितमा छ ।’
अर्थमन्त्री वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडी (ईभी)को मूल्य घट्ने पनि बताए ।














