पहिलो पटक संसद्मा बोल्दा विवादमा तानिए बालेन
वि.सं.२०८३ जेठ १७ आइतवार १७:११
shares

काठमाडौँ। गत फागुनमा भएकाे प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएसँगै संसद्मै प्रतिनिधि सभा सदस्य वासना थापाले आपत्ति प्रकट गरिन्। उनले प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पुर्याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने तर्क गरिन् ।
त्यस्तै नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुने प्रक्रियालाई २ वर्ष पछाडि सारिएको विषयमा सांसदहरूको जिज्ञासा मेटाउने क्रममा प्रधानमन्त्रीले चीनको उदाहरण पेस गरेका थिए । उनले भने, ’छिमेकी राष्ट्र चीन अस्ति भर्खरै मात्र डेभलपिङ (विकासशील) बाट डेभलप्ड (विकसित) मा गएको हो।’
प्रधानमन्त्रीको यो दाबी पनि सांसदहरूले ’तथ्यगत त्रुटि’ भन्दै आलोचना गरे। संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय निकायहरूले अझै पनि चीनलाई ’विकासशील देश’ कै श्रेणीमा राखेको सांसद खुश्बु ओलीले बताइन् ।
धानमन्त्रीले विना अध्ययन र र्यान्डम रूपमा बोल्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धुमिल हुने भन्दै उनले प्रश्न उठाइन्। ’चीनले आफूलाई अझै विकासशील भनिरहेको अवस्थामा हाम्रा प्रधानमन्त्रीले कुन आधारमा विकसित भनेर घोषणा गर्नुभयो? यसले भोलि कूटनीतिक खण्डन आउन सक्छ,’ उनले भनिन्।













