‘गाईजात्रा कसले सुरु गरे भन्नेमै अन्योलता छ’
‘गाईजात्रा वास्तवमा मृत्यु गणना दिवस पनि हो’ :संस्कृतिविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ
श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्वको अलग्गै सांस्कृतिक महत्व छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । यसै सिलसिलामा संस्कृतिविद् प्राध्यापक डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
नेवार समुदायमा उल्लासका साथ गाईजात्रा प्रचलन छ, यो किन मनाइएको हो ?
हाँसो हुँदाको अवस्थामा मात्र नभएर आँसु झरेको अवस्थामा पनि मनाउने जात्रा वा चाडपर्वहरु नेवार संस्कृति एवम सभ्यतामा धेरै छन् । त्यसमध्येको एउटा पर्व हो ‘सापारु’ भाद्र शुक्ल प्रतिपदा अथवा गाईजात्रा । गाईजात्रा राष्ट्रिय जीवनमा र सापारु नेवा लोक जीवनमा प्रचलित नाम हो । वर्षभरिमा मरेका जतिपनि मृत आत्माहरू छन् वा मृतकहरु छन् । सद्गति प्राप्त नगरेका, अकालमा दुर्घटनामा परेर मृत्यु भएका पनि हुन सक्छन् । जसको सद्गति हुन सक्दैन उनीहरुको स्मरणमा मनाइने पर्व हो । हिन्दु धर्म वा सनातन धर्मको एउटा लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु हो । मोक्षमा पुग्नका लागि सद्गति हुनपर्छ भन्ने मान्यता छ । त्यसकारण व्यक्तिगत रुपमा परिवारले आर्थिक वा अन्य कारणले सद्गतिमा परेकाहरुको सद्गति हुन नसकेको खण्डमा वर्षभरिमा मरेमा जतिपनि मृत आत्मा छन् तिनीहरु मुक्त हुन सद्गतिमा पुगोस् भन्ने प्रचलन छ । ‘ब्रह्मत्व, विष्णुत्व, रुद्रत्व’ प्राप्त होस् भनेर मनाइने प्रचलन छ ।
गाईजात्राको सुरुवात चाहिँ कसरी भयो ?
अहिले सञ्चारमाध्यमहरूमा र जनजीवनमा पनि म के सुन्छु भने गाईजात्रा कान्तिपुरका राजा प्रताप मल्लले उनका पुत्र दिवङ्गत भएपछि रानीलाई खुशी पार्न वा मनाउनका निम्ती जात्रा चलाएका हुन् । तर यस कुरालाई पुष्टि गर्ने हामीसँग कुनै ऐतिहासिक ठोस् पुरातात्विक सामग्री छैनन् । प्रताप मल्लको समय भनेको आजभन्दा लगभग साढे तीनसय वर्ष अगाडिको कुरा हो । प्रताप मल्ल भन्दा पनि तीनसय वर्ष अगाडि वा आज भन्दा ६ सय वर्ष अगाडि तत्कालिन नेपालको राजधानी नगर भक्तपुरमा जुनबेला राजा जयस्थिति मल्लले शासन गर्दै थिए । उनले सम्पादन गर्न लगाएको एउटा वंशावली गोपालराज वंशावली भनेर प्रसिद्ध छ । गोपालराज वंशावली मात्र नभएर ऐतिहासिक दृष्टिले पनि एउटा मूल स्रोत प्रमाण हो । जसलाई नेपालका इतिहासकारहरुले यसलाई विश्वसनीय, ऐतिहासिक स्रोत सामग्रीको रुपमा मानिँदै आएको छ । गोपालराज वंशावलीलाई जोडेर गाईजात्रामा भन्नुपर्दा गोपालराज वंशावलीमा घण्टाकर्ण चतुर्दशीको उल्लेख पनि भएको पाइन्छ । सायद सम्बन्धित शब्दको उल्लेख पनि आएको छ । गाईजात्राको दिनमा यस्तो यस्तो विधान गर्नु भन्ने सन्दर्भमा स्पष्ट रुपमा नेपाल भाषामा ‘साया’ शब्द उल्लेख छ । ‘सा’को अर्थ गाई हो,‘या’को अर्थ यात्रा वा जात्रा हो । यस प्रमाणको आधारमा प्रताप मल्लको समय भन्दा धेरै अगाडि आजभन्दा ६ सय वर्ष अगाडि नै धुमधामसँग गाईजात्रा मनाउने चलन प्रचलनमा आइसकेको थियो ।
गाईजात्रा कसले चलायो ? कहिलेदेखि चलाइयो यसको ठोस स्रोत सामग्रीको आधारमा भन्न नसकेता पनि लाग्छ लोक जीवनमा, धार्मिक, सांस्कृतिक जीवनमा गाईजात्रा सभ्यताको उषाकालदेखि नै गाईपुजन गर्ने संस्कृति प्रचलनमा आइसकेको कुरा थाहा पाउन सक्छौं । नेपालमा गोपालराज वंशावली नै आधार मानेर भन्ने हो भने सोही अनुसारका प्रमाणहरु छन् । सबैभन्दा पहिला नेपाल मण्डलमा बस्ती बसालेर कृषि, पशुपालन, उद्योगधन्दा धर्म राज्यव्यवस्था समेत सञ्चालन गर्ने सभ्यताको युग सुरुवात गर्ने यहाँका प्रथम आदिवासी गोपालहरू नै थिए । गाईपुजक गोपालहरू नै थिए । आजभन्दा चार हजार वर्ष अगाडिदेखि नै गाई पुज्ने प्रचलन आइसकेको थियो । यही गाई पुज्ने प्रचलन विकास हुँदै प्राचीन कालसम्म आइपुग्दा यसले गाईजात्राको रुपमा विकसित भइसकेको थियो । यस कुरालाई अझ पुष्टि गर्ने उदाहरण हाँडीगाउँको संवत ३२ को अंशुवर्माको अभिलेखका श्रावनिका दानको कुरा पनि उल्लेख भएको छ । श्रावनिका दानले हामीलाई अहिलेको जनैपूर्णिमा झलझली सम्झाइदिन्छ । श्रावनिका दान गाईजात्राको एकदिन अगाडिको दिन हो । जनै पूर्णिमा गाईजात्रा उत्तर प्राचिन कालदेखि नै चलेर आइसकेको थियो । अझ अर्को कुरा भक्तपुर राजदरबारको राष्ट्रिय कला संग्रालय बसेको जुन भवन छ त्यहाँको स्थानीय जीवनमा सिंह ढोका राजदरबार नामले प्रसिद्ध छ । त्यो दरबारको उत्तरपट्टि मालती चोक छ । चोकको दक्षिण भित्तामा नेपाल सम्वतको मिति उल्लेख भएको जितामित्र मल्लका सुपुत्र भूपतिन्द्र मल्लका शिलालेखहरू छन् । ति शिलालेखहरूमा पनि यो जनै पूर्णिमाको उल्लेख गरिएको छ । त्यसमा पनि जनै पूर्णिमाको भ्यागुतालाई भात खुवाउने उल्लेख गरिएको छ । त्यसले पनि मल्ल कालको उत्तरार्ध तिर आइपुग्दा यो पर्वलाई धुमधामसँग व्यापक रुपले मनाउने चलन थियो । र त्यो चलन आजसम्म पनि बाँकी नै छ ।
गाईजात्राको विधि र प्रक्रिया कस्तो हुन्छ ? अहिलेको गाईजात्रा र अहिलेको गाईजात्रामा के भिन्नता पाउनुहुन्छ ?
खासै भिन्नता आएको जस्तो त छैन । किनभने गाईजात्रामा मरेकाहरूको स्मृतिमा अथवा जुन घरमा मानिसहरुको निधन हुन्छ उनीहरुको सम्झनामा उनीहरुकै घरबाट नगर परिक्रमा गर्ने र राजदरबारलाई समेत परिक्रमा गरेर मनाउने चलन छ । यसको विधिबारे संक्षिप्तमा भन्नुपर्दा सम्पन्न वर्गहरूले माटोबाट साँढेको प्रतिमा बनाएर झकिझकाउ गरेर नगर परिक्रमा गर्ने चलन छ । अर्को कुरा, यहाँ सम्पन्न होस् वा विपन्न होस् तर संस्कार हुनैपर्ने हुन्छ । त्यसले संस्कृतिलाई गतिशिल बनाएर अगाडि लगेको हुन्छ । केही दशक अघिसम्म पनि यहाँ गौचरण हुन्थ्यो । गोरुलाई वृषोत्सर्ग भनेर साँढेलाई चर्नका लागि भनेर मैदान समेत छोडिदिन पर्थ्याे । त्यो संस्कृति त लोप भएर गयो । मैले हेर्दाहेर्दै पनि आजभन्दा आधा शताब्दी अथवा पचास वर्ष अगाडि पनि यहाँ गौचरणहरु हुन्थे । धेरै गाई र गोरुलाई चराउन ल्याउँथे । गाईजात्रामा समेत गाईलाई नै घुमाउने गर्थे । अहिलेको अवस्थामा गाई पाउन छोडिसकेको र गौचरणको समेत अभाव भएका कारण गाई देख्नै छोडिसकेका छौं । अव्यवस्थित र अनियन्त्रित रुपमा बस्ती बढेर आएको कारणले पनि अलिकति प्रतिकुल प्रभाव पारेको जस्तो लाग्छ । तर जेहोस गाईजात्राको दिन मृतकको सम्झनामा थुन्चे (साँढेको सिंहजस्तो) बनाएर गाईको चित्र राखेर त्यसमै मृतकहरुको चित्र अथवा छाँया चित्र टाँसेर नगर परिक्रमा गराउने चलन छ । उनीहरुको स्मृतिमा फलफुल र मिठाई बाँढ्ने चलन छ । मृत आत्माको सम्झनामा आँसु झरिरहेका भएपनि नाच्ने र गाउने गरेर गाईजात्रा मनाइँदै आएको छ ।
गाईजात्रा नेवार समुदायमा मात्रै किन मनाइन्छ ? अरु समूदायले मनाउनै नहुने हो कि नमनाएको हो ?
नेपाल मण्डलको आदिवासी यहाँका नेवाः जाति हुन् । नेवाः संस्कृती सभ्यताले संसारलाई चिनाएको छ । नेपालीलाई चिनाएको छ । यो जात्रा को नेवार ? को गरिब, को धनी ? सारा नेपालीहरुले मनाउने जात्रा हो । तर विषेश रुपमा नेवा धर्म संस्कृतिसित मिल्न पुगेको छ । त्यतिमात्रै हो जनैपूर्णिमा नेवार वा गैर नेवार सबैले मान्छन्, सबैले जनै फेर्छन् । त्यसैगरी गाईजात्रामा पनि निधन भएका आफन्तको सम्झनामा को नेवार, गैर नेवार सबैले आफ्नो श्रद्धा र संस्कार अनुसार मान्छन् ।
गाईजात्रामा थरिथरिका नाचहरू देखाइन्छन् । ति नाचहरूको महत्व के छ ?
गाईजात्रामा नाचिने नाच ‘घिन्ताङघिसिङ’ नाच हो । यो नाचले यहाँको गुन्यूपुनिः अथवा जनैपूर्णिमा र त्यही नाचले यहाँको गाईजात्रालाई विषेश स्मरण गराउँछ । अन्य नाचहरू महाकाली प्याँखः, फागन्तली प्याँख लगायत नेपाल भाषामा धेरै नामहरु छन् । यी नाचहरू मात्र हेर्ने हो भने चालीसभन्दा पनि बढी प्रकारका होलान् । नेपाल मण्डलमा समेत स्थान विशेषले फरक फरक नाचहरू नाच्ने गरेका छन् । यी नाचहरू चौधौं शताब्दीदेखि अथवा ६ सय वर्षदेखि यी नाचहरू यहाँ प्रचलनमा आएको अनुभूत हुन्छ । गोपाल राज वंशावलीमा अनेक नामका नाचहरूको उल्लेख आएको छ । जयस्थिति मल्लको पालादेखि दक्षिण तिरबाट विभिन्न नाचहरू आए । त्यही बेलामा सिम्रौनगढ ध्वस्त भयो । त्यसपछि त्यहाँबाट तिलोजा भवानी लिएर राजधानी छिरेर भक्तपुरमा शरण लिन आएका थिए । काल क्रममा देवलदेवीहरुले राजनीतिक शरण पाए । एउटा महत्वपूर्ण कुरा के छ भने हरिसिंह देवलदेवीको माइती राज्य हो भक्तपुर ।
आफ्नो दाजु रुद्र मल्लको मृत्युपछि अनेक कारण नियत र नियतिले गर्दाखेरि नायवी शक्तिशाली भएकै कारण कुशलतापूर्वक शासन गरेको हो । देवलदेवी सिम्रौनगढी रानी थिइन् । र उनी यहाँ आइसकेपछि यहाँको शासन गर्दाखेरि उताको संस्कृति पनि उनी यहाँ लिएर आइन् भन्ने कुरामा अतिशयोक्ति नहोला । त्यसकारण यहाँको जुन गाईजात्रा छ । यहाँका विभिन्न नाचहरूलाई हेर्दाखेरि ति नाचहरू पनि सिम्रौनगढको संस्कृति स्थानान्तरण भएर नवसंस्कृतिको उत्पत्ति भएको मानिन्छ । यो आफ्नै ठाँउमा ठिक छ । भक्तपुरबाट इतिहासको काल प्रवाहमा यहाँबाट कोही पूर्वतर्फ लागे कोही पश्चिम तिर लागे । उनीहरु जहाँ गएपनि आफ्नो धर्म संस्कृतिको रक्षा गर्दै अगाडि बढाउँदै लगे । खास गरेर नेपालमा जहाँ नेवा बस्ती छ त्यहाँ वर्षभरि मनाउने अन्य चाडपर्वहरु लगायत सापारु पनि आफ्नो तरिका अनुसार मनाउने चलन छ । यसलाई बढि र घटी भन्नुभन्दा पनि संसार चल्यो त्यो ठूलो कुरा हो । संस्कृती गतिशिल हुन्छ त्यो कहिले पनि स्थिर हुँदैन । संस्कृती चलाउने राजसंस्थाको अन्त्य हुन्छ तर संस्कृतिले निरन्तरता पाउँछ ।
गाईजात्राको मौलिकता अहिलेको यो आधुनिक युगमा आएर हराएको जस्तो लाग्छ । कि के छ, युवा पुस्ताहरू यसप्रति कतिको आकर्षित छन् ?
नेपाल मण्डलको अहिले चलेर आएको जात्राहरूलाई हेर्दा र त्यसमा सापारुलाई पनि जोडेर हेर्दा यहाँ अहिले सांस्कृतिक पुनः जागरण आएको छ । अहिलेका युवा पुस्ताहरूलाई धेरै धन्यवाद दिन्छु जसले हाम्रो संस्कृती र परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ ।
गाईजात्रा हाम्रो पहिचान हो । संसारले चिन्दै आएको वा विदेशीले जात्रा मात्र स्मरण गर्दा नेपाललाई सम्झिने गर्छन् । गाईजात्रा मानसपटलमा आउँछ । केही केही कुराहरु सायद लोप पनि भएको होला । अहिले गाई पाउन छोड्यो त्यसको सट्टामा माटोको साँढे बनाएर पठाउने चलन छ ।
एउटा महत्वपूर्ण कुरा भनेको हाम्रो पहिलादेखि चलेर आएका जात्राहरूमा बाँसुरीलगायत परम्परागत वाद्यवादन पर्छन् । तिनीहरु नै प्रयोगमा ल्याउँछौ । त्यो दिनभरी नै सुन्ने हो भने पनि दिक्क नलाग्ने खालको बाजाहरु छन् । तर त्यसको विकल्पमा पश्चिमेली बाजालाई भित्राएर नगर परिक्रमा गर्ने चलन छ । त्यो बाजालाई नराम्रो भन्न खोजेको होइन तर जुन पहिलादेखि चलेर आएको हाम्रो आफ्नै बाजाहरु राम्रो छ भने अरुको किन लिनुपर्यो भन्ने हो । त्यसकारण गाईजात्रामा पश्चिमेली प्रभावलाई प्रोत्साहन नगरौं । आफ्नै पहिलेदेखिको मौलिक संस्कृती परम्परालाई नै निरन्तरता दिनुपर्छ । मलाई त्यस्तो बाजाको प्रयोग गर्दा संस्कृतिको मजाक उडाएको जस्ता लाग्छ । यसो हुँदा बाजा बजाउनेहरूले पनि प्रोत्साहन पाउँछ ।
यो बाहेक गाईजात्रामा त्यस्तो विकृति आएको जस्तो मलाई लाग्दैन । बरु अहिलेको युवा पुस्ताले यसमा होस गरौं । यसलाई संरक्षण गरौं । युवा पुस्ताले हाम्रो पहिचान हो भन्ने बुझेका छन् । यो मर्यो भने हाम्रो पनि अस्तित्व हुँदैन ।
अर्को कुरा भनेको गाईजात्रा वास्तवमा मृत्यु गणना दिवस पनि हो । वर्षभरिमा कति मानिसको मृत्यु भयो, भनेर थाहा पाउन सकिन्छ । यस दिन राजनीतिक व्यङ्ग्य गर्ने पनि चलन छ । यो पनि एउटा संस्कृतिको रुपमा आएको छ ।
गाईजात्राको दिनदेखि कृष्ण जन्माष्टमी सम्म यो जात्रा विभिन्न प्रहसन, नाच र नाटकहरू देखाएर मनाउने चलन छ । गाईजात्रालाई वाक स्वतन्त्रताको रुपमा पनि मनाइने गरिन्छ ।