विश्वकपको एसिया छनोट : नेपालको विजयी सुरुवात, थाइल्याण्ड ६७ रनले पराजित

1.76K
shares

आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा बुधबार भएको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डले ११ दशमलव ४ ओभरमा १० विकेट गुमाएर ३५ रन मात्रै बनाउन सक्यो ।

थाइल्याण्डको लागि कप्तान अफिसरा सुवान्चोनरथले २३ बलमा एक छक्का प्रहार गर्दै सर्वाधिक १३ रन बनाइन् । यस्तै, एरिकन फुएन्खोले ७ बलमा तीन रन, यानाथिप ताकुन्सीले तीन बलमा एक रन, नाथरिका थोकोई र चानोकन फनाओले समान ६/६ रन बनाए ।

त्यसैगरी, कुरानित सुवान्चोराथीले दुई, सुनिसा बोङ्कोडफोंगम्पाईले ४ रन बनाइन् भने केवारिन साचाओ, चारुकन साइमा र केसिनी काउजुम्फोलले एक रन पनि जोड्न सकेनन् ।

नेपालका लागि रचना कुमारी चौधरीले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, रिया शर्मा र पुजा महतोले समान २/२ विकेट लिए भने कृश्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले समान एक/एक विकेट लिए ।

नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ ।