एनपिएल : विराटनगरले जनकपुरलाई दियो जितको लागि एक सय २८ रनको लक्ष्य

1.25K
shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा शनिबार भएको खेलमा विराटनगरले बोल्ट्सलाई जितको लागि एक सय २८ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको हो ।

विराटनगरको लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्धतले ५५ रन बनाएका हुन् ।

यस्तै, अकिब इलियासले १५, निकोलस किर्टनले ९ र लोकेश बमले ५ रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७÷७ रन बनाए ।

त्यस्तै, विराटनगरको लागि क्रिस सोलले ४, प्रतिश जिसीले २ र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुखिया शुन्य रनमै आउट भए ।

विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो ।

जनकपुर बोल्ट्सको लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।