अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह

1.14K
shares

तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् ।

तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र ऊर्जाको क्षेत्रमापनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए ।

‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईँ हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुई मत छैन’, उनले भने ।

कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको सिंहले बताए ।

त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथमिकता नागरिकको जीविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए ।

महोत्सवले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहुसाँस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।