ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रूपैयाँ नाघ्यो

  • बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रूपैयाँ पुगेको हो। यसले बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकको विश्वासलाई उजागर गरेको बताइएको छ।

    नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रूपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको हो।

    ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ।

    वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५०० अर्ब रूपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए।

    ‘निक्षेप रकम ५०० अर्ब रूपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो। यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो। यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँ–नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ,’ उनले भने, ‘हामीले यो उपलब्धिलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ क्षेत्रको उपलब्धिको रूपमा लिएका छौँ।’

    बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation