पश्चिम एसियामा युद्धको संकेत, अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– जतिसक्दो छिटो लेबनानबाट निस्कनू

  • मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले लेबनानबाट आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो निस्कन आग्रह गरेको छ ।

    बीबीसीका अनुसार, लेबनानको राजधानी बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई कुनै पनि उपलब्ध टिकटमा यथाशीघ्र लेबनान छोड्न भनेको हो ।
    यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै सूचना जारी गरेका थिए । क्षेत्रमा तीव्रताका साथ परिस्थिति बिग्रन सक्ने भन्दै जतिसक्दो चाँडो लेबनानबाट निस्कन बेलायती नागरिकलाई उनले आग्रह गरेका थिए ।

    गत बुधबार इरानको तेहरानमा हमास नेताको हत्यापछि इरानले इजरायलमाथि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फौदलाई मारेको दाबी गरेको केही घण्टालगत्तै हनिया मृत्युको खबर आएको थियो ।

    आइतबार राति उत्तर इजरायलको हिलेल क्षेत्रमा हिजबुल्लाहले कैयौँ रकेट प्रहार गरेको छ । सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले मिसाइलहरूलाई निष्कृय पार्दै गरेको देखिएको छ । यद्यपि, कुनै मानवीय क्षति भएको जानकारी बाहिर आएको छैन । जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न चेतावनी जारी गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation