
अर्थ मन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन् । मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै अर्थ मन्त्री पौडेलले राजस्व सङ्कलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मिहिनेतको आवश्यकता रहेको उल्लेख गरे ।
‘अहिले बजेटमा जुन राजस्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनतको आवश्यकता छ । यहाँ सबै प्रकारका त्रुटि एवम् कमजोरीहरू छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’ अर्थमन्त्री पौडेलले भने ।
विगतमा राजस्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मिहिनेतको आवश्यकता रहेको पौडेलको भनाइ छ ।
अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ ।
आयात–निर्यात र उत्पादनमा पनि कमी आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए ।
अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजस्व सङ्कलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए । करका दरहरू परिवर्तन गर्दा परिपक्वता आवश्यक रहेको उनले बताए ।‘राजस्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजस्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरुलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजस्व सङ्कलन गर्ने योजना छ । एकतर्फ राजस्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पुरा गर्न सक्ने गरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यवसायीहरूलाई उत्पादन गरी मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर रूपमा अगाडि लैजान खोजिरहेका छौँ,’ उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलको योजनाले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले पूँजी बजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पूँजी बजारको विकासको सन्दर्भमा पारदर्शी, परिपक्क ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
०००